जनता टाइम्स

१२ आश्विन २०७९, बुधबार ०९:३७

मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउने अभियान जारी


काठमाडौं, १२ असोज । मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रलाई सम्मानजनक श्रम गन्तव्य बनाउने अभियानका लागि कार्यरत विश्वास नेपालले विनरक इण्टरनेशनलसँगको सहकार्यमा श्रमिकको हक हितका लागि वृहत कार्यक्रमहरू सम्पन्न गरेको छ । विश्वास नेपालद्वारा आयोजित कार्यक्रममा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकलाई श्रमिक अधिकारबारे जानकारी गराउने, सङ्गठित हुन प्रेरित गर्ने र श्रमऐनबारे बुझाउँदै श्रमको मुल्य र कामप्रतिको दायित्व, कर्तव्य सम्झाउन तालिम, गोष्ठी, अतिरिक्त सिप ज्ञान दिएको जानकारी दिइएको छ ।

वीनरक इन्टरनेशनलको सम्मान परियोजनाका व्यवस्थापक एवं संयोजक विवेक शर्माले विश्वास नेपालसँगको सहकार्यमा सञ्चालित कार्यक्रमबारे जानकारी दिंदै यस क्षेत्रमा कार्यरत श्रमिकको राष्ट्रिय सम्मेलन दुई पटक भव्य रूपमा सम्पन्न गरिएको बताउनुभयो । उहाँले कैलाली, कञ्चनपुर, बाँके र बर्दियाका मनोरञ्जन क्षेत्रमा कार्यरत ४६ जना श्रमिकलाई तालिम, तीनसय जनालाई मनोपरामर्श सेवा, प्रदान गरेको जानकारी दिनुभयो । कोरोना महामारीमा मनोरञ्जन क्षेत्र बन्द भएर प्रभावित श्रमिकका लागि खाद्य सहयोग कार्यक्रम अन्तर्गत दुई पटक गरी पाँचसय जनालाई सहयोग गरिएको विश्वास नेपालले जनाएको छ ।

सो परियोजनाले श्रमिकलाई तालिम, सिपमार्फत सशक्तिकरणमा सहयोग पुर्याउँदै यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन पालिकाहरूलाई अनुगमनमा सहयोग गर्ने, मानव बेचविखनको जाखिम कम गर्ने, उपत्यकामा र उपत्यकाबाहिर लुम्बिनी र सुदुरपश्चिम प्रदेशसम्म सेवा पुर्याएको संयोजक शर्माले बताउनुभयो । विश्वास नेपालका कार्यकारी निर्देशक मधु गुरूङले देशभित्रै श्रम गरी मर्यादित जीवन बाँच्न अवसर प्रदान गर्ने नेपाली मनोरञ्जन क्षेत्र व्यवस्थित र मर्यादित भए व्यवसाय सञ्चालक, श्रमिक तथा राष्ट्रकै लागि महत्वपूर्ण उपलब्धी हुने बताउनुभयो ।

संस्थाका अध्यक्ष तारा भण्डारीले करिब आठ लाख भन्दा बढि श्रमिक कार्यरत मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रले उपलब्ध गराएको रोजगारी अवसर अत्यन्त सह्राहनीय काम भएको बताउनुभयो । उहाँले यस क्षेत्रलाई अझ मर्यादित बनाउने अभियानमा स्थानीय तह, सञ्चालक, श्रमिक र यस क्षेत्रका लागि काम गर्ने संस्थाको सहकार्यको परिणाम हासिल हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग –यूएसआईडी र युकेएडको सहयोगमा विश्वास नेपालले मनोरञ्जन क्षेत्रका श्रमिकका सम्वन्धमा सर्वेक्षण गरेको छ ।

नेपालगञ्ज, धनगढी र महेन्द्रनगरका खाजा घर, डान्सबार,क्याविन, मसाज पार्लर र दोहोरी रेष्टुरेण्टलगायतका मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक सम्वन्धी गरिएको सर्वेक्षणले क्याविन रेष्टुरेण्ट र खाजाघरमा बालबालिकाले श्रम गरिरहेको देखाएको छ । अध्ययन गरिएका स्थानमध्ये मुल्याङ्कनमा धनगढीबाहेकका सबै स्थानमा गरी एकसय दुई जना बालबालिकाले श्रम गरिरहेको अध्ययनले पुष्टि गरेको हो । तर यस क्षेत्रमा दिगो रूपमा काम गर्ने श्रमिक नहुने, चलायमान वा पेशा परिवर्तन गरिरहने समस्याका कारण श्रमिकबारे तथ्याङ्क पनि घटबढ भइरहने समस्या पनि रहेको संस्थाले जनाएको छ ।

सर्वेक्षणबाट बसाई सराई, प्राकृतिक विपत्ती, आर्थिक स्थिति कमजोर भएका वर्गबाट मनोरञ्जन क्षेत्रमा काम गर्न जाने बढि भेटिएको र शिक्षित श्रमिकको सङ्ख्या पनि पाइएको छ । अध्ययनले मनोरञ्जन क्षेत्रमा हुने समस्याहरू बढि समय काम गर्नुपर्ने, समयमा तलब पाउन गाह्रो र सम्झौता नगरी काममा लगाउनेलगायतका समस्या राजधानी र राजधानी बाहिर पनि उस्तै समस्या दोहोरिएको पाइएको छ ।

विस्वास नेपालले बालबालिकालाई श्रममा लगाउने वाध्य परिवारलाई आय आर्जनको लागि सहयोग गर्ने र श्रम गर्न विवस बालबालिकाको लागि पढ्नका लागि सहयोग गरी सो क्षेक्र बालश्रममुत्त क्षेत्र बनाउन विभिन्न गैरसरकारी संस्थासँग सहकार्य गरिरहेको अध्यक्ष तारा भण्डारी बताउनुभयो । उहाँले शिक्षाको उज्यालोबाट बञ्चित भएर श्रम गर्नुपर्ने वाध्यकारी अवस्थाका बालबालिकालाई पढ्ने अवसरका साथै बालक्लवमा आवद्ध झएर अतिरिक्त त्रियाकलापमा पनि संलग्न हुने अवसर प्रदान गरेको बताउनुभयो ।