जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार ११:२१

अस्ट्रेलियामा एक नेपाली सहित ५ जना १० करोड अस्ट्रेलियन डलरसहित पक्राउ


काठमाडौं, साउन १५

एक नेपालीसहित पाँचजना स्रोत नखुलेको १० करोड अस्ट्रेलियन डलर (७ अर्ब ६१ करोड १३ लाख) सहित अस्ट्रेलियाबाट पक्राउ परेका छन् । उनीहरू अवैध तरिकाले रकम कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

सेक्युरिटी व्यापार कम्पनी खोलेका उनीहरूले विभिन्न देशबाट अवैधरूपमा रकम ओसारपसार गर्ने गरेको खुलेको हो । पक्राउ पर्ने नेपालीमा २९ वर्षीय विपिन थापा रहेका छन् । उनको ठेगाना भने खुलाइएको छैन । उनीसहित ३० वर्षीय गगनदीप पवा र ३० वर्षीय गोपाली दहललाई असार २६ गते पक्राउ गरेको हो ।

तीनदेखि चार वर्षको अवधिमा यो समूहले ८ देखि १० करोड अस्ट्रेलियन डलरको अवैध हुन्डी कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । अस्ट्रेलिया क्रिमिनल ग्रुप्स स्क्वाडले थापासहित गगनदीप र गोपालीलाई पक्राउ गरेको हो । यो ठूलो हुन्डी कारोबारका मुख्य अभियुक्त गगनदीप हुन् । गोपाली उनकी घरेलु साझेदार भएको अनुसन्धान अधिकारीहरूले उल्लेख गरेका छन् ।

प्रहरीले तीनजना पक्राउ परेको केही समयपछि पुनः दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय र अस्ट्रेलियन नागरिक भएको स्थानीय संचारमाध्यमले जानकारी दिएका छन् । ३० वर्षीय नितिन कपिलालाई साउन ३ गते न्युजिल्यान्ड जाने क्रममा विमानस्थलबाट पक्राउ गरेको थियो । पाँचौँ अभियुक्त ३१ वर्षीय पञ्जाबका मनमनदिर सिंहलाई साउन ९ गते पक्राउ गरेको अस्ट्रेलिया क्रिमिनल ग्रुप्स स्क्वाडले जनाएको छ ।

उनीहरूले साउथ–वेस्ट सिड्नी, भिक्टोरिया र वेस्टन अस्ट्रेलियालाई आधार बनाएर अवैध हुन्डी कारोबार गर्दै आएका थिए । गगनदीप सञ्चालक रहेको कम्पनीको नाउँमा एकै दिन स्रोत नखुलेको ४ लाख ४५ हजार डलर बैंक अफ न्यु साउथ वेल्समा जम्मा भएको थियो । उनीहरूले एकपटक ४५ हजार डलर, अर्कोपटक ५५ हजार र दुईपटक ७५\७५ हजार डलर बैंकमा जम्मा गरेका थिए । त्यसको भोलिपल्ट उनीहरूले ९ पटक गरेर १ लाख ९५ हजार डलर जम्मा गरेपछि अनुसन्धान अधिकारीहरूले उनीहरूमाथि निगरानी बढाएका थिए ।

पक्राउ गर्दा प्रहरीले उनीहरूबाट ४ लाख डलर, पैसा गन्ने मेसिन तथा ३ ओटा सवारी साधनसमेत बरामद गरेको छ । देखाउनका लागि सेक्युरिटी व्यापारको कम्पनी खडा गरी भित्रीरूपमा ठूलो रकमको अवैध कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरूमाथि गम्भिर प्रकृतिको मुद्दा लगाइएको छ भने उनीहरूमध्ये केहीको निवदेन अदालतले खारेज गरिदिएको छ । पक्राउहरूका तर्फबाट मुद्दा हेरिरहेका वकिल इजाज खानका अनुसार अस्ट्रेलियाको कानुनअनुसार अभियोजन गम्भीर प्रकृतिको हो । ‘प्रहरीले लगाएको आरोपबारे प्रमाण हेर्ने काम गरिरहेको छ । ती आरोपहरू निकै खराब र गम्भीर खालका छन् । मैले अभियोजन पक्षको मुद्दाबारेमा टिप्पणी गर्नु अगाडि प्रमाणहरू हेर्न आवश्यक हुन्छ’, उनले भनेका छन् ।

गगनदीप सञ्चालक रहेको एजसियोर प्रोटेक्सन सर्भिसेसबाट यो अवैध कारोबार भएको हो । साथै पछि पक्राउ परेका सिंहका नाममा होल्डिङ पिटिवाई लिमिटेड र ओसिस प्रोटेक्टिभ सर्भिस पिटिवाई लिमिटेड नामक दुई कम्पनी रहेको भेटिएको छ । आपराधिक समूहबाट आएको रकमसमेत उनीहरूको खातामा जम्मा हुने गरेको अनुसन्धानले देखाएको छ । सन् २०१६ देखि २०१८ सम्म गगनदीप यस कम्पनीको निर्देशक तथा सचिव थिए । त्यसयता भने दहल यस कम्पनीका निर्देशक र सेयर धनी रहँदै आएकी छिन् । रकम परिचालन गर्ने कार्यमा थापाको संलग्नता देखिएको छ । घटना अनुसन्धानका लागि खटिएका जासुस इन्स्पेक्टर निक रिड भन्छन्, अनुसन्धानले थप प्रमाण जुटाउनेछ । अरू केही व्यक्तिहरू पक्राउ पर्न सक्छन् ।’