जनता टाइम्स

१४ आश्विन २०७९, शुक्रबार १२:३६

राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन प्रधानमन्त्री देउवाले गर्ने


काठमाडौं, १४ असोज । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को समापन कार्यक्रमका लागि निमन्त्रणा पत्र बिहीबार प्रदान गरिएको छ ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कात्तिक ३ गते पोखरा रंगशालामा हुने नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लािग निमन्त्रणा पत्र प्रदान गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ पनि उपस्थिति हुनुहुन्थ्यो । त्यस अवसरमा मन्त्री गहतराज र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री देउवालाई नवौं राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराउनु भएको थियो ।

नवौं राष्ट्रिय खेलकुदको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई असोज ११ गते निमन्त्रणा पत्र प्रदान गरी सकिएको छ ।