जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार १२:३१

२५ औं प्रकाश मानव अधिकार पुरस्कार गुरुप्रसाद बराललाई


काठमाडौं, साउन १५

शोषण, विपन्नता, विभेद एवं कूरीतिमुक्त समाज निर्माणको अभियानमा जीवनको झण्डै पाँचदशक समर्पण गर्नुभएका मोरङका गुरुप्रसाद बराललाई २५ औं प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित गरिने भएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) का महासचिव रमेशचन्द्र पौडेलको संयोजकत्वमा गठित छनोट समितिले उहाँलाई सो सम्मान अर्पण गर्ने निर्णय गरेको हो ।

छनोट समितिमा इन्सेकका कोषाध्यक्ष गीता बाराल र सदस्य नीलमशेखर अधिकारी सदस्य रहनुभएको संस्थाका अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । इन्सेकका सस्थापक महासचिव प्रकाश काफ्लेको विसं २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभीरमा थाई एयरको विमान दुर्घटनामा परी निधन भएको थियो । नेपालको मानवअधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पु¥याउनु भएको योगदानलाई चिरस्थायी बनाउन इन्सेकले उक्त पुरस्कार स्थापना गरेको थियो ।

मानवअधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायत क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसका अवसरमा दिइने सो पुरस्कार हालसम्म विभिन्न क्षेत्रका २४ व्यक्तित्वले पाइसकेका छन् । आगामी बिहिबार सो पुरस्कार अर्पण गरिने इन्सेकले जनाएको छ ।