जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार ०९:०१

सल्यानमा जिप दुर्घटना : २ जनाको मृत्यु, १७ घाइते


सल्यान, १५ असोज । सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दामोदर केसीका अनुसार शनिबार बिहान कुमाख गाउँपालिका–६ जिमालीनजिकै दुर्घटनामा परेका हो ।

दुर्घटनामा ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया अनिता भन्ने एनका पुनको मृत्यु भएको उनले जानकारी दिनुुभयो ।  धार्मिक पर्यटकीयस्थल खैराबाङ भगवतीको दर्शन गर्न आउँदै गरेका यात्रु बोकेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । जिपमा १९ जना यात्रु सवार रहेको र घाइतेहरूको विवरण आउन बाँकी रहेको डीएसपी केसीले जनाए ।यसअघि गत मंगलबार राति कपुरकोट गाउँपालिकाको मूलपानीनजिकै जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो । दुर्घटनास्थलमा ८ जना र एक जना घाइतेको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।