जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार १७:१५

नेवा: देय् दबूले भन्यो-काठमाडौं महानगरले बांगेमुढाको सामुदायिक भवन भत्काउनु निन्दनीय


काठमाडौं, असोज १५ । काठमाडौं महानगरपालिकाले थायमदु (बांगेमुढा) मा रहेको त्‍वाः छें (सामुदायिक भवन) भत्काउन खोजेकोमा नेवा देय् दबूले विरोध जनाएको छ।

महानगरले २४ घण्टे अल्टिमेटम दिएर काठमाडौं २५मा रहेको उक्त त्वाः छें भत्काउन स्थानीयमाथि बल समेत प्रयोग गरेको भन्दै नेवा ः समुदायको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले आज विज्ञप्ति जारी गर्दै विरोध जनाउनु भएको हो ।

उक्त त्वाः छेंमा वडा कार्यालय राख्न तयार रहेको कुरा राख्दै वार्ता, छलफल र सहमतिका लागि तयार हुँदाहुँदै पनि महानगरले भवन भत्काउने काम गरेको निन्दनीय भएको दबूको ठहर छ। ‘सहमतिका लागि तयार हुँदाहुँदै र सो सम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेको अवस्थामा सो भवन भत्काउने कार्य निन्दनीय ठहर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दसैं विदाको एकदिन अगाडि २४ घण्टे अल्टिमेटम दिएर भवन भत्काउन डोजरसहित आएर श्वेत आतंक मचाउनु भर्त्सना योग्य छ।’

दबूले अहिले वार्ता गरी सहमति गर्नु नै आवश्यकता भएको जनाएको छ। यस्तै यस्ता उत्तेजक गतिविधिबाट अप्रत्याशित र अनियन्त्रित प्रतिरोधलाई मलजल तयार गर्न सक्ने कुरामा पनि महानगरलाई सचेत रहन दबूको सुझाव छ। दबूका अनुसार सयौं वर्ष अघिदेखि समुदायले उपभोग गरी आएको जग्गामा टोल समाजको सामूहिक पहल र लगानीमा झण्डै ५० वर्ष अगाडि सामुदायिक भवन निर्माण भएको थियो।

‘सामुदायिक भवन निर्माण पश्चात सो भवनको रेखदेखका लागि त्वाःछें परिवार गठन भई संरक्षणको काम भइआएको हो। र सो भवनबाट हुने स्थानीय सांस्कृतिक, सामाजिक तथा निर्माण कार्यमा खर्च गरी वार्षिक रुपमा लेखापरिक्षण गराइ सार्वजनिक गर्ने काम भइ आएको हो।’

यसअघि त्यही भवनमा वडा कार्यालय समेत राखिएको दबूले उल्लेख गरेको थियो। यसैगरी बालाजु(बाइपास सडक विस्तार पीडित संघर्ष समितिले पनि उक्त कामको विरोध जनाएको छ।

यही ठाउँमा इतिहास कोर्ने कामहरू भएको र महानगरले यसलाई भत्‍‍काएको भन्दै समितिले आपत्ति जनाएको हो। उक्त त्वाःछें सोही ठाउँमा पुनर्निर्माण होस् भन्दै माग समेत गरेको छ।