जनता टाइम्स

१६ आश्विन २०७९, आईतवार १२:२९

हङकङमा नक्कली खोप कार्ड बनाउने ३७० सरकारी कर्मचारी निलम्बित


हङकङ, १६ असोज । हङकङको सार्वजनिक सेवा ब्युरोले नक्कली खोप कार्ड लिएको आरोपमा ३७० सरकारी कर्मचारीलाई निलम्बन गरेको छ । साथै ब्युरोले गलत कार्यमा संलग्न हुने सबैलाई आवश्यक कानुनी कारबाही गरिने बताएको छ । ब्युरोले सरकारी कर्मचारीमा अनुशासन र एकता निकै महत्वपूर्ण हुने बताएको छ । स्थापित संयन्त्रलाई आधार मानेर कुनै पनि कानुनको उल्लंघन गर्ने कर्मचारीलाई सरकारले गम्भीरताका साथ कारबाही गर्ने ब्युरोले उल्लेख गरेको छ ।

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको कडा किसिमको नियमका बाबजुद पनि सहरमा व्यापक मात्रामा संक्रमण फैलिएको थियो। अहिले पनि दैनिक चार हजारको हाराहारीमा कोरोनाका नयाँ संक्रमित थपिइरहेका छन् । अहिलेको खोप कार्डको योजनाअनुसार मानिसहरुले कुनै पनि सार्वजनिक स्थान र रेष्टुरेन्टमा प्रवेश गर्नुका साथै कुनै पनि सरकारी कर्मचारी काममा जानुभन्दा पहिला तीन डोज खोप लगाएको प्रमाण पेश गर्नुपर्छ । अन्यथा उनीहरुले मेडिकल छूटको लागि चिकित्सकले दिएको प्रमाण पेश गर्नुपर्छ ।

गत महिना प्रहरीले नक्कली खोप कार्डमा छूट दिएको आरोपमा ६ जना डाक्टरलाई पक्राउ गरेको थियो । उनीहरुले आवश्यक परीक्षण नगरी मानिसहरुलाई खोप कार्ड दिने गरेको प्रहरीको आरोप छ । थप एकजना डाक्टरलाई प्रहरीले अहिले खोजिरहेको छ । तिनै डाक्टरहरुले अहिले निलम्बनमा परेका कर्मचारीहरुलाई खोप कार्ड दिएका थिए । ब्युरोले खोप मेडिकल छूट लिएका ८५० जनाको खोप कार्ड परीक्षण गर्दा ३७० जनाको कार्ड नक्कली पाएको हो । त्यस्तै ७० जना गैरसरकारी सेवाका कर्मचारीले पनि नक्कली खोप कार्ड लिएका थिए ।