जनता टाइम्स

१७ आश्विन २०७९, सोमबार २२:११

मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार


स्टकहोम, १७ असोज । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ । मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत पाबोलाई चिकित्साशास्त्रतर्फको पुरस्कार दिइने भएको हो ।

मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहको आनुवांशिक संकेत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उहाँलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ ।

उहाँलाई १ करोड स्वीडिश क्रोनर प्रदान गरिनेछ । नोबेल कमिटीले भनेको छ,‘अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उनको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौँ भन्ने पत्ता लगाउने आधार बनेको छ ।’