जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार १६:२१

यस्तो छ पर्यटनमन्त्री योगेश भट्टराईको मादीको हडतालदेखि सिंहदरवारसम्मको संघर्षपूर्ण यात्रा


काठमाडौं, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीका रुपमा आजबाट कार्यभार सम्हाल्नुभएका नेकपाका नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई कुसल संगठनका रुपमा स्थापित हुनुहुन्छ । जतिसुकै चुनौतीपुर्ण, जोखिमयुक्त जिम्मेवारीलाई पनि सहज रुपमा पार लगाउने क्षमताका नेता भट्टराईलाई प्रधानमन्त्री ओलीले भरोसाका साथ निकै चुनौतीपुर्ण मन्त्रालयकै नेतृत्व सुम्पनु भएको छ । भिजिट २०२० को सुरुवात हुन पाँच महिना मात्रै बाँकी रहँदा प्रधानमन्त्रीले भट्टराईलाई आफ्नो सारथी छान्नुभएको हो ।

शब्दमा योगेश भट्टराई

नवनियुक्त पर्यटनमन्त्री भट्टराई गत निर्वाचनमा ताप्लेजुङबाट भारी मतका साथ प्रतिनिधिसभा सदस्यका रुपमा बिजयी हुनुभयो । सांसदको रुपमा पनि उहाँको भुमिका सदैव जिल्लाको बिकाशका अभियन्ताका रुपमा रह्यो । सरकारको वकालतको सवालमा पनि प्रवक्ताकै जस्तो भुमिका निर्वाह गर्नुभएका भट्टराईले राष्ट्रपति भवन शितल निवासमा शपथग्रहण गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पर्यटनमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्नुभएको छ ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिनुभयो । मध्यमवर्गीय परिवार थियो । तीन दिदी, एक दाजुु र एक बहिनी । उहाँ दुुई वर्षको छँदा नै बुवा बित्नुुभयो । बुवा समाजसेवी हुनुहुन्थ्यो । शिक्षाको ज्योति फैलाउनुपर्छ भन्ने भावनाले नयाँ विद्यालयहरू स्थापना गर्न प्रेरित गर्नुहुन्थ्यो । स्थापना भएका विद्यालयको दिगोपनाका लागि सकेजति आर्थिक सहयोगसमेत गर्नुहुन्थ्यो । बालबालिकालाई स्कुल पठाउन प्रेरित गर्नुहुन्थ्यो ।

उहाँले २००८ सालमा २० हजार भारु चन्दा दिएको तेह्रथुम जिल्लाको संक्रान्तिस्थित त्रिमोहन स्कुल पूर्वकै प्रख्यात विद्यालयमा पर्छ । उहाँको आर्थिक सहयोगमा खुलेका स्कुलहरू अहिले उच्च माविका रूपमा सञ्चालन भइरहेका छन् । योगेशले २०५१ सालमा ताप्लेजुङ ढुंगेसाँघु निवासी विन्दा घिमिरेसँग विवाह गर्नुभयो । उहाँले अथाह सम्भावना बोकेको ताप्लेजुङका ती सबै स्कुल तथा अस्पताललाई सुविधासम्पन्न र आधुनिकीकरण गर्ने योजना अघि सार्नुभएको छ ।

मादीको हडतालदेखि केन्द्रीय कारागारसम्म

साँघुकै (मैवाखोला गाउँपालिका) नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेर माध्यमिक शिक्षाका लागि योगेश संखुवासभाको मादी माविमा भर्ना हुनुभयो, जहाँ पुग्न उहाँको गाउँबाट दुई दिनको पैदलयात्रा गर्नुपथ्र्यो । गाउँमा माध्यमिक विद्यालय नभएका कारण २०३७ सालमा उहाँ मादी पुग्नुभएको थियो । २०३६ सालको विद्यार्थी आन्दोलनको रापताप बिस्तारै गाउँसम्म फैलिँदै थियो । गाउँसम्म अनेरास्ववियुको चर्चा हुँदै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले हामहडताल गर्यो । नेपालकै पहिलो ऐतिहासिक हडताल सफल पार्न उहाँ सक्रिय रूपमा सहभागी हुनुभयो । संगठित हिसाबले उहाँको राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो । उहाँ सम्झनुहुन्छ, ‘आमहडताल भनेपछि अनिश्चितकालका लागि होला भनेर हामीले २० दिनसम्म माविमा हडताल गर्यौं ।’

स्वविवेकले आन्दोलनमा होमिनुभएका योगशले स्कुले जीवनपछि भने ताप्लेजुङका अगुवा शिक्षकहरू डिल्ली घिमिरे, हरि घिमिरे, बोलिनन्द फागोबाट राजनीतिक सम्पर्क र शिक्षा पाउनुभयो । एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै पहिलोपटक काठमाडौंको केन्द्रीय कारागारमा थुनिनुभयो । सरल, सक्रिय, स्पष्ट र जुझारु स्वभावका कारण महेन्द्ररत्न क्याम्पसको नेतृत्व लिन उहाँलाई धेरै समय लागेन । छोटो समयमै क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा स्थापित हुनुभयो । २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी हुनुभयो । देशभरिका हजारौं विद्यार्थीको उपस्थिति रहेको त्यो मञ्चमार्फत उहाँको राजनीतिक यात्राले एउटा उचाइ प्राप्त गरिसकेको थियो ।

पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उहाँले थुप्रैपटक जेलनेल र कठोर यातना भोग्नुप¥यो । जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसर पाउनुभयो, जसबाट राजनीतिक यात्रालाई अझ निखर बनाउन सहयोग पुुग्यो । यही क्रममा उहाँले अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीको सदस्य तथा बाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हाल्नुभयो । आन्दोलन र राजनीतिक जिम्मेवारीसँगसँगै उहाँले आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहनुभएको थियो । त्यहीबीचमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तरसमेत गर्नुभयो ।

पञ्चायती व्यवस्थालाई समाप्त गर्न पञ्चायती चुनावलाई उपयोग गर्ने पार्टी नीतिलाई कार्यान्वय गर्ने सिलसिलामा २०४३ सालमा भएको निर्वाचनमा केही समय काठमाडौंमा र बाँकी समय ताप्लेजुङका सम्मानित व्यक्तित्व अम्बिका साँवाको चुनावी अभियानमा बिताउनुभयो । जनपक्षीय उम्मेदवार साँवाको चुनाव प्रचारका क्रममा रातिराति साथीभाइसँग संगठन गर्दै जनताको घरआँगनमा मकैभटमास खाँदै हिँडेको सम्झना अहिले पनि उहाँसँग ताजै छ । साँघुमा चुनाव प्रचार गरिरहेको बेला २०४८ साल वैशाख १० गते सिनाममा एमालेका कार्यकर्ता क. इन्द्र थेबे र क. रुकमान थेबे हत्याको खबर सुन्नुप¥यो । हत्याको खबरले उहाँलाई दुखित त बनायो तर त्यसलाई अझ शक्तिका रूपमा ग्रहण गर्दै अघि बढ्नुको विकल्प थिएन । उहाँले त्यसै गर्नुभयो ।

ताप्लेजुङका असल अभिभावक

उतिखेर साँघुमा माध्यमिक र उच्च शिक्षा शिक्षा नभएक कारण योगश संखुवासभाको मादी हँुदै काठमाडौं आउनुभयो । तर, ताप्लेजुङसँगको सामीप्य र ताप्लेजुङका जनताको सम्बन्ध भने सधैं कसिलो रह्यो । देशको आशाको अनुहार त हुँदै हुनुहुन्छ, ताप्लेजुङ र ताप्लेजुङे जनताको असल अभिभावकको भूमिकासमेत उहाँले निरन्तर निर्वाह गरिरहनुभएको छ । ताप्लेजुङको विकास र समृद्धिका लागि काठमाडौंमा हुने अभियानमा मात्रै होइन, सकेसम्म जिल्लामा भएका अभियानमा समेत उहाँ सधैं सक्रिय सहभागी हुनुभयो । ताप्लेजुङको समग्र विकासका निम्ति उहाँहरूकै सक्रियता र अगुवाइमा २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को स्थापना भयो । उहाँ त्यसका संस्थापक महासचिव हुनुहुन्थ्यो, जसले ताप्लेजुङको विकासका लागि केन्द्रीय तहमा उहाँकै नेतृत्वमा बहसहरू सुरु गर्यो ।

ताप्लेजुङमा आगलागी हँुदा होस् वा पहिरो जाँदा अथवा कुनै प्राकृतिक विपत्ति आइलाग्दा होस्, उहाँ सधैं ताप्लेजुङे जनताको संकटको साथी बन्नुभयो । विपत्तिमा परेका ताप्लेजुङका जनताको राहत र उद्धारको अगुवाइ उहाँले नै गर्दै आउनुभएको छ । ताप्लेजुङको विकासनिर्माणका लागि राज्यको निर्णायक तह र निकायमा दबाब दिने तथा विभिन्न विकास निर्माणका परियोजनाको अगुवाइ गर्ने काममा उहाँको भूमिका र नेतृत्व सधैं अग्रणी छ । त्यति मात्रै होइन, उहाँले संकटमा परेका ताप्लेजुङका जनतालाई विभिन्न किसिमका सहयोग गर्दै आउनुभएको छ । पढ्न नपाएका गरिबका छोराछोरीलाई स्कुल खोजिदिनेदेखि उपचार नपाएकाहरूलाई अस्पताल पु¥याउनेसम्मको सामाजिक कामलाई समेत उहाँले प्राथमिकतामा राख्नुभएको छ । ताप्लेजुङदेखि काठमाडौंसम्मका ताप्लेजुङवासीले अप्ठ्यारो र समस्या पर्ने्बित्तिकै योगेशलाई सम्झने गर्दछन् ।

विद्यार्थीलाई विभिन्न सार्वजनिक स्थल तथा सार्वजनिक सवारीसाधनमा छुट गराउने आन्दोलनको नेतृत्व पनि उहाँले नै गर्नुभएको थियो, जुन सुविधा अहिले पनि विद्यार्थीहरूले उपभोग गरिरहेका छन् ।

जनआन्दोलनका जुझारु नेता

योगेश २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी हुनुभयो । बसाइ त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित होस्टलमा थियो । त्यसबेला उहाँको जिम्मेवारी अखिलको केन्द्रीय सदस्यका रूपमा थियो । जनआन्दोलनका लागि अखिल र नेविसंघबाट समन्वय गर्ने समिति थियो । त्यो महत्वपूर्ण समितिमा अखिलका तर्फबाट समन्वयको जिम्मेवारी योगेशलाई दिइएको थियो । सुरुमा कांग्रेस र वामपन्थीको सहकार्य थिएन । उहाँहरूकै पहलकदमीबाट विद्यार्थीहरूले सहकार्यको सुुरुवात गरे । नारा तय भयो– आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रको निम्ती पञ्चायतको अन्त्य । २०४६ फागुन ७ गते काठमाडौंको नयाँ सडकमा प्रर्दशन गर्ने कार्यक्रम थियो । उपत्यकाको कमान्डरका हिसाबले त्यसको व्यापक तयारीमा हुनुहुन्थ्यो योगेश । तर, ६ गते राति २ बजे उहाँलाई पक्राउ गरियो ।

केही दिनपछि सिन्धुुपाल्चोकको चौतारामा लगेर राखियो । प्रजातन्त्र आएपछि मात्रै उहाँलाई छाडियो । पञ्चायतले चुनौतीका रूपमा राखेको विद्यार्थी नेता भएकै कारण आन्दोलनको सुरुमै पक्राउ गरिएको थियो । उहाँ सम्झनुहुन्छ, ‘२६ गते राति हामीलाई पनि जेलबाट छोडियो । भोलिपल्ट हामीलाई बिहानै गाडीबाट काठमाडौं ल्याइयो । चौताराबाट आउँदा बाटैभरि रमाइला दृश्यहरू थिए । दोलालघाटमा धेरै मान्छेहरू रातो झन्डा बोकेर नाचगान गरिरहेका थिए । पहिलोपटक त्यति धेरै मानिसले कम्युुनिस्टको झन्डा बोकेर निस्किएको देख्दा असाध्यै खुसी लाग्यो । हामी सिधै खुलामञ्च गयौं । खुलामञ्चमा मनमोहन अधिकारी, गणेशमान सिंह, झलनाथ खनाल, कृष्णप्रसाद भट्टराई, साहना प्रधान, गिरिजाप्रसाद कोइरालालगायतले बोल्नुुभयो । प्रजातन्त्र आएको त्यो दिन हर्ष र गौरवको दिन थियो ।’

सडकदेखि अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म

२०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गर्नुभएका योगेश संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्ष रहनुभयो । बहुदलीय व्यवस्था आइसकेपछि पनि गरिएका जनघाती तथा राष्ट्रघाती कदमका विरुद्ध काठमाडौं उपत्यकामा भएका सडक संघर्षहरूको नेतृत्व उहाँले गर्नुभयो । जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्याविरुद्धको आन्दोलनमा अगुवाइ उहाँले नै गर्नुभयो । यस्तै, अनेक आन्दोलनबाट खाँरिदै, माझिँदै युवा जोस र उत्साहका साथ अघि बढिरहनुभएका योगेशले खासगरी २०५०/५१ सालतिर शिथिल भएको नेपाली विद्यार्थी आन्दोलनलाई नेपाली समाजमा पुनःस्थापित गराउनुभयो ।

नेपाली विद्यार्थी आन्दोलनको प्यारो संगठन अखिल (अनेरास्ववियु) लाई नेपाली कम्युनिस्ट आन्दोलनको सफलताको संवाहक शक्तिका रूपमा स्थापित गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । मुलुकमा राष्ट्रवादी आन्दोलनको अगुवा शक्तिका रूपमा विद्यार्थी संगठनलाई स्थापित गर्नुभयो । यी र यस्ता धेरै योगदान र सक्रियताले योगेश नेपाली विद्यार्थी आन्दोलनको पर्याय नै हुनुभयो । आज पनि युवाहरू अखिल भन्नेबित्तिकै योगेश भट्टराईलाई सम्झन्छन् । उहाँ अनेरास्ववियुको अध्यक्ष हुनुभएका बेला सबैभन्दा बढी ७३ प्रतिशत क्याम्पसका स्ववियुमा अखिलले ऐतिहासिक सफलता हासिल गरेको थियो । उहाँ भन्नुहुन्छ, ‘हाम्रो पालामा पहिलोपटक ७३ प्रतिशत कलेजमा स्वावियुु चुनाव जित्यौं । विद्यार्थी आन्दोलनलाई शैक्षिक ऐजेन्डातिर केन्द्रित गर्यौं ।’ विद्यार्थीलाई विभिन्न सार्वजनिक स्थल तथा सार्वजनिक सवारीसाधनमा छुट गराउने आन्दोलनको नेतृत्व पनि उहाँले नै गर्नुभएको थियो, जुन सुविधा अहिले पनि विद्यार्थीहरूले उपभोग गरिरहेका छन् ।

राष्ट्रियताको आन्दोलनका अगुवा

योगेशको आमव्यक्तित्व नेपाली राष्ट्रियताको पक्षमा संगठित ढंगले आवाज बुलन्द गर्ने एक देशभक्त तथा प्रखर राष्ट्रवादी नेताका रूपमा स्थापित छ । यसर्थ, उहाँ नेपाली राष्ट्रियताका सच्चा पहरेदार हुनुहुन्छ । राष्ट्रवादी आन्दोलनका अनेक महत्वाकांक्षी कार्यक्रमलाई कार्यान्वयन गरेर उहाँले यो यथार्थलाई पुष्टि गर्नुभएको छ । उहाँकै नेतृत्वमा भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता अभियान सम्पन्न भयो । २०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व गरेर आफ्नो राष्ट्रवादी छविलाई झन् अग्लो पार्नुभयो । त्यहीदेखि कालापानी मुद्दा राष्ट्रिय बहसको साझा विषय बनेको थियो ।

कालापानी बचाउने आन्दोलन अघि बढिरहँदा नेपालका ६२ स्थानमा भारतले सीमा अतिक्रमण गरेको प्रमाण सार्वजनिक गरियो । पूर्व पाँचथरको च्याङ्थापुदेखि सुस्ता, महेशपुर, टनकपुर हँुदै कालापानीसम्मको सीमासुरक्षा अभियानको अगुवाइ योगेशकै नेतृत्वमा भयो । यसरी उहाँ वैदेशिक हस्तक्षेपविरुद्ध आन्दोलनमा आफूलाई अग्रभागमा उभ्याउन सफल हुनुभएको छ । त्यस्तै, उहाँले २०४५ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइ गर्नुभयो । २०७१ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध पार्टीका नेताका रूपमा आन्दोलनको अगुवाइ गर्नुभयो । नेपालको सार्वभौम, स्वतन्त्र, नेपाली नेपालीबीचको एकताको पक्षमा उहाँले सम्झौताहीन संघर्ष गदै आउनुभएको छ ।

अप्रिल क्रान्तिका कमाण्डर

योगेशले २०६२/६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा (एमाले) को काठमाडौं उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गर्नुभयो । उपत्यकामा आन्दोलनको उभार ल्याउनमा उहाँको नेतृत्वदायी भूमिका थियो । आन्दोलनमा उपत्यकाभित्र अन्य राजनीतिक दल, नागरिक समाज तथा १२ बुँदे सहमतिपश्चात् तत्कालीन माओवादीलाई समेत समन्वय गर्न अग्रणी भूमिका खेल्नुभयो । जनक्रान्तिका बेला उहाँका योगदानको प्रशंसा र सम्झनामा लेखिएका हजारौं लेख, रचनाले उहाँको छवि राष्ट्रिय मात्रै होइन, अन्तर्रा्ष्ट्रिय क्षेत्रमा समेत परिचित गरायो ।

देश-विदेशको यात्रा

राजनीति गर्ने मानिसले आफ्नो देशको भूगोल, इतिहास र संस्कृतिको न्यूनतम ज्ञान राख्नुपर्दछ भन्ने मान्यता बोक्ने योगेशले नेपालका ७२ जिल्लाको भ्रमण गरिसक्नुभएको छ । अन्तराष्ट्रिय सम्बन्ध र ज्ञान पनि उत्तिकै छ । देशभित्र मात्रै होइन, अन्तर्रा्ष्ट्रिय सम्बन्धको पनि विशाल सञ्जाल तयार पारिसक्नुभएको छ । भारत, चीन, अमेरिका क्युबा, दक्षिण अफ्रिका, बेल्जियम, पोर्चुगल, जर्मनी, लक्जम्बर्ग, फ्रान्स, बेलायत, जापान, कोरिया, मलेसिया, सिंगापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड, चेक रिपब्लिक, अस्ट्रिया, रुस, ब्राजिल, कतार, साउदी अरब, दुबई, बहराइन, साइप्रसलगायत देशको भ्रमण गरिसक्नुभएको छ ।

उहाँले ती देशको भ्रमणबाट त्यहाँको राजनीतिक, सामाजिक तथा अन्य विभिन्न पक्षको अध्ययन गरी सकारात्मक पक्षलाई आफ्नो देशको विकास नीतिमा समाहित गराउन पहल गरिरहनुभएको छ । विभिन्न देशका राजनीतिक दल, सरकार तथा अन्य विभिन्न संघसंस्थाले उहाँलाई अतिथिका रूपमा आफ्ना विचार राख्न निरन्तर आमन्त्रण गरिरहन्छन् । उहाँको यो अन्तर्रा्ष्ट्रिय भ्रमणले नेपाल र नेपालीलाई विश्वभर चिनाउन तथा नेपाली राजनीतिलाई अन्तर्रा्ष्ट्रिय समुदायको मनमा राख्न उल्लेख्य सहयोग गरेको छ ।

पार्टी जीवन

२०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहनुभएका योगेशले पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटीसम्म काम गर्नुभएको छ । २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनबाट अत्यधिक मत ल्याई केन्द्रीय कमिटी सदस्यमा निर्वा्चित हुनुभयो । उहाँ पार्टीको नवौं महाधिवेशनबाट पार्टीको सचिव पदमा निर्वा्चित हुनुभयो । हाल उहाँ पार्टीको प्रचार विभाग प्रमुखको हैसियतले पार्टीको प्रचारको कामलाई अत्यन्तै कुशलका साथ निर्वाह गरिरहनुभएको छ । उहाँ मदन भण्डारी, नेल्सन मन्डेला र मार्टिन लुथर किङलाई आफ्नो आदर्श मान्नुहुन्छ ।

हुदलीय व्यवस्था आइसकेपछि पनि गरिएका जनघाती तथा राष्ट्रघाती कदमका विरुद्ध काठमाडौं उपत्यकामा भएका सडक संघर्षहरूको नेतृत्व उहाँले गर्नुभयो । जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्याविरुद्धको आन्दोलनमा अगुवाइ उहाँले नै गर्नुभयो

अब आर्थिक क्रान्ति

नेकपा (एमाले) पार्टीमा स्पष्ट विचार र दृष्टिकोण भएका नेताका रूपमा परिचित हुनुहुन्छ योगेश । पार्टीको पाचौं महाधिवेशनमा जननेता मदन भण्डारीले अघि सार्नुभएको नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादको विचारलाई स्थापित गर्न उहाँले अनेरास्ववियुको तत्कालीन नेतृत्वका हिसाबले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । राजनीतिक दलहरूको लोकतान्त्रिक रूपान्तरणका लागि दबाबमूलक काम गर्दै उहाँ पार्टी र समाजमा युवापुस्ताको निर्णायक उपस्थिति हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । त्यसलाई स्थापित गर्न उहाँ विभिन्न पार्टीका युवाहरूबीच अन्तरपार्टी सञ्जाल बनाएर विभिन्न क्रियाकलापमा सक्रिय हुनुहुन्छ । उहाँ पार्टीमा प्रौढहरूलाई सम्मान तथा युवाहरूलाई जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता स्थापित गर्न चाहनुहुन्छ ।

शान्तिपूर्ण अप्रिल क्रान्तिले लोकतान्त्रिक राजनीतिक क्रान्तिका मुख्य कार्यभार पूरा भएकाले अब आर्थिक क्रान्तिलाई मूल मन्त्र बनाएर राष्ट्रको आर्थिक-सामाजिक समृद्धिका लागि सिंगो राष्ट्र एकताबद्ध भएर लाग्नुपर्दछ भन्ने उहाँको दृष्टिकोण रहेको छ । देशबाहिर पोखिएको नेपाली युवाहरूको रगत र पसिनालाई नेपाली माटोमा नै एकाकार गराउनुपर्ने कुरामा उहाँको जोड छ । ‘सम्पूर्ण नेपाली नागरिकले श्रम गर्दै उत्पादनका काममा लाग्नुपर्छ । राष्ट्रिय पुँजी र उद्योगको विकासमा प्राथमिकता दिनुपर्छ । सबैले अनिवार्य कर तिर्नुपर्छ । अनि मात्र देशभित्र रोजगारीका अवसर सिर्जना हुन्छ । युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ,’ उहाँको मूलमन्त्र छ ।