जनता टाइम्स

१९ आश्विन २०७९, बुधबार ०८:५५

कोसी कटानको मन्दिरमा ३३ वटा बोकाको बलि


इनरुवा, १९ असोज । सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोसी कटानमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा ३३ वटा बोकाको बलि दिइएको छ । बडादशैंको महानवमीका दिन त्यहा निर्माण गरिएको काली तथा दुर्गा मन्दिरमा ३३ वटा बोका र दुईवटा राँगाको बलि दिइएको मेला समितिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिनुभयो । स्थानीयवासी तथा भक्तजनले गरेको भाकल पूरा भएकाले बलि दिएको बताइएको छ ।

यसैबीच बडादसैँको अवसरमा सुनसरीको विभिन्न ठाउँमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा पनि मेला लागेको छ । सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाट, इनरुवा ९ बवीया, कोसी कटान, कोसी गाउँपालिका–६ श्रीपुरजब्दी, हरिपुर, भण्टावारी, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर, देवानगञ्ज गाउँपालिकालगायत क्षेत्रमा निर्माण गरिएको मन्दिरमा पूजा गर्न भक्तजनको भीड लागेको थियो । मेला लागेको ठाउँमा राति सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको मेला आयोजक समितिले जनाएको छ ।