जनता टाइम्स

२० आश्विन २०७९, बिहीबार ११:०६

पश्चिम बंगालमा मूर्ति विसर्जन गर्न गएका ७ जनाको मृत्यु, कयौँ बेपत्ता


भारत, २० असोज । पश्चिम बंगालको जलपाईगुडी जिल्लामा हिजो साँझ मूर्ति विसर्जनका क्रममा आएको बाढीका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ । एएनआईका अनुसार जलपाईगुडीका एसपी देवर्षि दत्तले धेरै मानिस नदीमा फसेको र धेरै मानिस बगेको जानकारी दिनुभएको छ । हालसम्म ७ जनाको शव फेला परेको र एनडीआरएफ र सिभिल डिफेन्स टोली उद्धार कार्यमा संलग्न रहेको पनि बताइएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै लेख्नुभएको छ,‘पश्चिम बंगालको जलपाईगुडीमा दुर्गा पूजाको पर्वमा भएको दुर्घटनाले मेरो मन दुखेको छ । म यस दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति समवेदना प्रकट गर्दछु ।’