जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार ०७:१३

दक्षिण अफ्रिकाद्वारा भारत ९ रनले पराजित


काठमाडौं, २१ असोज । भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ९ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले भारतलाई २५० रनको लक्ष्य दिएको थियो । भारतको टोलीले इनिङ्सको अन्त्यसम्म ८ विकेट गुमाएर २ सय ४० रन मात्रै बनाउन सक्यो। भारतका लागि सञ्जु सामसनले सर्वाधिक ८६ रन बनाए । योसँगै श्रेयस अय्यरले ५० रनको पारी खेले ।

भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । वर्षाका कारण खेल ४०–४० ओभरको भएको थियो । पहिलो ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले ४० ओभरमा चार विकेट गुमाएर २४९ रन बनायो । हेनरिक क्लासेन र डेभिड मिलरले पाँचौँ विकेटका लागि १०६ बलमा १३९ रनको अविजित साझेदारी गरे । अन्तिम पाँच ओभरमा दुवैले विस्फोटक ब्याटिङ गर्दै ५५ रन बनाएका थिए । मिलरले ६३ बलमा ७५ रन र हेनरिक क्लासेनले ६५ बलमा ७४ रन बनाए ।

भारतका लागि शार्दुलले दुई विकेट लिए । कुलदीप यादव र रवि बिश्नोईले एक–एक विकेट लिए । खेलमा ऋतुराज गायकवाडले डेब्यु गर्ने मौका पाए । यस खेलको कप्तानी शिखर धवनले गरेका थिए । यसअघि बुधबार रोहित शर्माको नेतृत्वमा १४ सदस्यीय भारतीय टोली विश्वकपका लागि अस्ट्रेलिया प्रस्थान गरेको थियो ।