जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार ०६:०७

ओली सरकारको विकास हेर्न देवघाट आउनुस : सांसद श्रेष्ठ


तनहुँ, साउन १६ । प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले नेपाल कम्युनिस्ट पार्टीको सरकारको विकास हेर्न देवघाट आउन सबैलाई सुझाव दिनुभएको छ । देवघाट गाउँ पालिकाको आर्थिक वर्ष ०७६/७७ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले देवघाटले तनहुँका स्थानीय तहहरुमा राम्रो र उत्कृष्ट काम गरेको बताउनु भएको हो ।

विकासमा कुनै राजनीतिक गन्ध आउन दिन नहुने भन्दै उहाँले विकास जनताको हितमा र जनताको पक्षमा हुनु पर्ने बताउनुभयो। देवघाटलाई मुक्तिनाथसँग जोड्ने शालिग्राम करिडोरको यसै वर्ष ब्रेक थ्रु हुने भन्दै सांसद श्रेष्ठले आगामी वर्षदेखी शालिग्राम करिडोर कालोपत्रे सुरु हुने र देवघाट( दासढुङ्गा सडकको कालोपत्रेको काम यसै आर्थिक वर्षमा पूरा हुने बताउनुभयो । भ्रष्टाचार अन्त्यको लागि नेपाल कम्युनिस्ट पार्टीको वर्तमान सरकारले कुनै कसर बांकी नराख्ने भन्दै सांसद श्रेष्ठले भ्रष्टाचारी जेलबाट छुट्दा सय किलोको माला लिएर स्वागत गर्न जानेहरुलाई तनहुँका जनताले चिनिसकेको बताउनुभयो ।

तनहुँमा विगतमा राजनीतिक पुर्वाग्रहले गर्दा विकासका काममा पक्षपात भएको भन्दै सांसद श्रेष्ठले अब कुनै पनि बाहानामा पक्षपात र पुर्वाग्रह हुन नदिने स्पष्ट पार्नुभयो । देवघाटलाई विश्वका हिन्दुहरुको तिर्थस्थल बनाउन कुनै कसर बांकी नराख्ने भन्दै सांसद श्रेष्ठले सरकारले नीति तथा कार्यक्रममा पनि देवघाटलाई उचित सम्बोधन गरेको जानकारी दिनुभयो । देवघाट गाउँ पालिकाका अध्यक्ष दुर्गबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा देवघाटका अध्यक्ष भुवनसिंह गुरुङ, नेपाली कांग्रेसका सभापति प्रेम गुरुङ, नेकपाका नेता रामहरि बजगाई, वडा नम्बर ४ अध्यक्ष पदमबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो कार्यक्रम उपाध्यक्ष विमला थापाले गाउँ पालिकाको आर्थिक वर्ष २०७६/०७७ को लागि ३२ करोड ५५ लाखको नीति, बजेट तथा कार्यक्रमहरु पेश गर्नुभएको थियो भन प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले स्वागत गर्नुभएको थियो ।