जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार १४:११

गाउँघरमा सुनिन छाड्यो नगराको धुन


लमजुङ २१ असोज । दसैँका वेला बज्ने नगराको धुन अहिले गाउँघरमा सुन्न पाइँदैन । दसैँ सुरु हुनासाथ गाउँघरमा डुमडुम आवाज सुनिन्थ्यो । घटस्थापनादेखि पूर्णिमासम्म घर–घरमा डुलेर नगरा लगाउने चलन थियो । बेसीसहर नगरपालिका–५ का शमशेर थापाले यस वर्ष गाउँघरमा नगराको धुन सुन्न नपाएको बताउनुभयो ।

उहाँलाई दसैँको वेला ‘नगराको धुन’ सुन्न नपाउँदा केही खल्लो महसुस भएको छ । उहाँले भन्नुभयो, ‘केही वर्षअघिसम्म घटस्थापना सुरु भएदेखि नै गाउँघरमा नगरा लगाउँथे । नहरा लगाउँदा दमाहाको धुनले दसैँ आएको आभाष गराउँथ्यो । अहिले त नगराको धुन सुन्नै पाइँदैन । दसैँ नै सुनसान भएको छ ।’

दसैँको वेला नगरा लगाएको घरमा सुखशान्ति छाउने धार्मिक विश्वास पनि रहिआएको छ । दसैँको वेलामा परियार समुदायका मान्छेले घर–घरमा पुगी दमाहा बजाएर लगाउने नगरा प्रथा पछिल्लो समय हराउँदै गएको हो । हिन्दू धर्मसंस्कृतिसँग जोडिएको नगरा लगाउने प्रथा पछिल्लो समय हराउँदै गएको छ ।

युवा पुस्ताले चासो नदिने र नगरा लगाउनेलाई समाजले राम्रो नजरले नहेरेका कारण यो प्रचलन बिस्तारै हराउँदै गएको बेसीसहर नगरपालिका–११ चितीका धनबहादुर परियारको अनुभव छ । ‘अहिलेका ठिटाहरू बाजा बजाउनै लाज मान्छन् । नगरा लगाउनेलाई समाजले खासै राम्रो पनि मान्दैन ।’

दमाहा बजाएर नगरा लगाउँदा दमाहाको धुनले सुतेकी देवी पनि ब्युँझने, प्रसन्न हुने र नगरा लगाएको घरमा सुखशान्ति, समृद्धि छाउने जनविश्वास छ ।