जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार १७:४५

पहिरोमा पुरिएर छ जना बेपत्ता, प्रहरी टोली घटनास्थल जाँदै


काठमाडौँ, २१ असोज । प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती (नाम नखुलेको), १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन् ।

दिउँसो साढे तीन बजे घटना घटे लगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र टोली घटनास्थलमा नायव उपरीक्षक सुवाश खड्कासहितको टोली घट्नास्थलतर्फ गएको प्रवक्ता थापा मगरले जानकारी दिनुभयो । ‘अत्यधिक वर्षाका कारण जताततै पहिराले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ’, उहाँले भन्नुभयो ।

इलाका प्रहरी कार्यालय विजुवारबाट प्रहरी निरीक्षक दिपेन्द्र वानियाको नेतृत्वमा सात जना तथा सशस्त्र प्रहरी आश्रित गुल्म विजुवारबाट प्रहरी नायव निरीक्षक ऋषिराम बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा गएको छ । पहिरो गएको ठाउँ सदरमुकामबाट २४ किलोमिटर टाढा पर्छ । ‘सडक खुलाउन समय लाग्ने भएकाले प्रहरी टोली पैदल नै घटनास्थलतर्फ जाँदै छ’, प्रवक्ता थापा मगरले भन्नुभयो ।