लमजुङ, २२ असोज । चार हजार आठ सय मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव आज भेटिएको छ । दसैँ मनाउनका लागि ऐतिहासिक एवं पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता बेँसीसहर नगरपालिका–१० साँधुको २४ वर्षीया शर्मिला तामाङको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले सो स्थान नजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो । यसअघि मृतक युवतीका श्रीमान् सर्लाहीको लालबन्दीका २६ वर्षीय बुद्ध तामाङको सोही क्षेत्रमा लेक लागेर मृत्यु भएको थियो । शर्मिलाका बुबा ५० वर्षीय खेमबहादुर तामाङ, भाइ १६ वर्षीय च्याम्बो तामाङ र काकाको छोरा १९ वर्षीय करण तामाङको प्रहरीले उद्धार गरेको छ ।
तीनैजना करिब चार हजार मिटर उचाइको च्यार्बोस्थित भेडीगोठमा भेटिएका प्रहरीले जनाएको छ । बेँसीसहरबाट उक्त पोखरी पुग्न तीन दिन लाग्छ । उहाँहरु असोज १६ गते त्यसतर्फ जानुभएको थियो । फर्किने क्रममा शर्मिला र श्रीमान् बुद्धको मृत्यु भएको हो । दुवैको शव प्रहरीले बेँसीसहर ल्याउँदै छ ।













प्रतिक्रिया दिनुहोस्