जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १३:५५

राप्रपाका उम्मेदवार दीपक बोहोरालाई एमाले र जसपाको समर्थन


रुपन्देही, २३ असोज । राप्रपाका नेता तथा पूर्वमन्त्री दीपक बोहराले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । आज भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उम्मेदवारी दर्ता गराउनुभएको हो । नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टी, नेपाल (जसपा) गठबन्धनबाट उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

बोहरा २०७४ सालको निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस–राप्रपा गठबन्धनबाट उम्मेदवार हुनुभएको थियो । गत निर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार घनश्याम भुसालसित बोहरा पराजित हुनुभएको थियो । त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ (क) बाट जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यादव २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुनुहुन्थ्यो । क्षेत्र नम्बर ३ (ख)बाट प्रदेशसभामा एमालेका तुल्सी प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । बोहराको प्रतिस्पर्धा गृहमन्त्री तथा कांग्रेस नेता खाणसित हुन लागेको छ ।