जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १५:१५

चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाको स्वतन्त्र उम्मेदवारी दर्ता


चितवन, २३ असोज । चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । यो निर्वाचन क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको छ । माओवादीबाट डा. भोजराज अधिकारीले उम्मेवारी दर्ता गराउँदै हुनुहुन्छ । यो निर्वाचन क्षेत्रमा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चर्चा थियो ।

उहाँ गोरखा–२ मा गएपछि माओवादीले अधिकारीलाई उठाएको हो । तर, कांग्रेस चितवनले भने माओवादीलाई नछाड्ने भन्दै कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । कोइराला यसअघि पनि भरतपुर महानगरपालिकामा मेयरमा उठ्ने तयारीमा हुनुहुन्थ्यो । कांग्रेसले अन्तिममा उहाँको टिकट खोसेर प्रचण्डकी छोरी रेनु दाहाललाई समर्थन गरेको थियो ।

चितवन ३ मा कांग्रेसका बागी जगन्नाथ पौडेलले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । चितवन ३ बाटै एमालेले जिल्ला अध्यक्ष रामकुमार न्यौपानेलाई उम्मेदवार बनाएको छ । यसअघि सो निर्वाचन क्षेत्रमा एमालेले राप्रपाका विक्रम पाण्डेलाई सघाउने सहमति भएको थियो ।