जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १७:४९

गृहमन्त्रीकै अगुवाईमा सत्ता गठबन्धनले गर्यो एम्बुलेन्सलाई अवरोध


भैरहवा, असोज २३ । भैरहवामा मनोनयन दर्ताको र्यालीले बिरामी बोकेको एम्बुलेन्स रोकेको छ । सधैँ प्राथमिकतामा रहने संवेदनशील साधनको रुपमा रहने एम्बुलेन्स मनोनयन दर्ताको र्यालीका कारण रोकिएको हो ।

आइतबार दिउँसो करिब २ बजे नेपाली कांग्रेससहितको गठबन्धनले निकालेको मनोनयन दर्ताको र्यालीले सडक जाम गरेपछि बिरामी बोकेको एम्बुलेन्स रोकिन पुगेको हो ।

बाटो नै पूर्ण कब्जा गरेर मनोनयन दर्ता गर्न गएपछि भैरहवा मेडिकल कलेजबाट जाँदै गरेको रा १ झ १०८ नम्बरको लालमटिया स्वास्थ्य चौकीको एम्बुलेन्स मैत्री पथमा रोकिएको थियो ।

गल्लामण्डीमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयबाट निस्केको र्यालीमा उम्मेदवार नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण र प्रदेश सभा तर्फ लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे तथा नेपाली कांग्रेसका रामचन्द्र ढकाल लगायतको समर्थकहरुको र्‍यालीका कारण एम्बुलेन्सलाई अवरोध हुन पुगेको हो ।

एम्बुलेन्स जाने बाटो नै नभएपछि एम्बुलेन्स र्याली अगाडि बढेपछि मात्रै गन्तव्यतर्फ लागेको थियो । गृहमन्त्री नै उम्मेदवार भएपछि भैरहवाको सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो । रुटमा विपरीत दिशाबाट आउने सवारीसाधनलाई पूर्ण रोक लगाइएको थियो ।