जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार ११:०७

जननेता मदन भण्डारी र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्न बल्खु र पेरिसडाँडा पुगे पर्यटनमन्त्री भट्टराई


काठमाडौं, साउन १६ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । मन्त्रीको कार्यभार सम्हालेको दोस्रो दिन नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका नेता भट्टराई पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित आज बिहान पेरिस डाँडा पुग्नुभएका मन्त्री भट्टराईले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । तात्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरण गर्ने योगेश पहिलो मन्त्री हुनुहुन्छ । यसअघिका मन्त्रीहरु पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रममा मात्रै पेरिसडाँडा पुग्ने गरेका थिए ।

पेरिसडाँडामा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले नेकपालाई अहिलेको स्थानसम्म पुर्याउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको ठुलो योगदान रहेको बताउनुभयो । सोही कारण आफू श्रद्धाञ्जली अर्पण गर्न आइपुगेको उहाँको भनाई थियो । नवनियुक्त पर्यटनमन्त्री भट्टराई आजै तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर मदन भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । पर्यटनमन्त्रीको सपथग्रहण लगत्तै नेता भट्टराई लैनचौरस्थित सहिद स्तम्भ पुगेर श्रद्धाञ्जली अर्पण गरेपछि मात्रै मन्त्रालय पुगेर कपदभार ग्रहण गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा बुधवार मात्रै भट्टराई पर्यटनमन्त्री नियुक्त हुनुभएको थियो । तात्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आउनुभएको थियो । अधिकारीको निधन भएको ठीक पाँच महिना पुगेकै दिन बुधवार भट्टराईलाई सो मन्त्रालयको जिम्मेवारी सुम्पिएको हो ।