जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार १२:११

चोरी निकासी र पैठारी नियन्त्रणमा इमान्दारीपूर्वक लाग्न भन्सार कर्मचारीलाई अर्थमन्त्री खतिवडाको निर्देशन


काठमाडौं, साउन १६ । अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । भन्सार विभागले आज बिहान राजधानीमा आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री खतिवडाले सो जानकारी दिनुभएको हो ।

उहाँले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको धारणा पनि राख्नुभयो । हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी दिंदै अर्थमन्त्री खतिवडाले उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको उन्नयनका निम्ति कानूनी एवं संरचनागत सुधारमा लागेको जानकारी दिनुभयो ।

राष्ट्रिय पूँजी निर्माणमा निजी क्षेत्रलाई आह्वान गर्दै अर्थमन्त्री खतिवडाले भन्सार र व्यापारका पूर्वाधार बनाउन र सुस्त गतिमा भइरहेको औद्योगिकीकरणलाई दु्रतगतिमा बढाउन सार्वजनिक निजी साझेदारी आवश्यक भएको बताउनुभयो । ‘कर सुविधा प्राप्त एवं संरक्षित क्षेत्रमा लगानी गरेर उद्योग–व्यवसायलाई बढावा दिनेतर्फ लाग्नुहोस्, राष्ट्रिय अर्थतन्त्र प्रवद्र्धनमा हामी सघाउन तत्पर छौं,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

अर्थमन्त्रीले चोरी निकासी पैठारी नियन्त्रणमा इमान्दारीपूर्वक लाग्न सम्बद्ध पक्षलाई निर्देशन पनि दिनुभयो । अर्थसचिव राजन खनालले कारोवारमा आधारित भन्सार प्रणाली क्रमशः विकास गर्दै जाने सरकारको नीति रहेको जानकारी दिंदै बिल बिजकका समस्या उद्यमी–व्यवसायीबाट उत्पन्न हुन नहुनेमा जोड दिनुभयो । कार्यक्रममा विभागका महानिर्देशक रामेश्वर दङ्गालले भैरहवा, नेपालगञ्ज, विराटनगर र वीरगञ्ज जस्ता ठूला र देशभरका २४ वटा भन्सार कार्यालयलाई आर्थिक गतिविधिका लागि बैंकिङ कारोवारमा रूपान्तरण गरिएको जानकारी दिनुभएको थियो ।