काठमाडौं, असोज २६ । नेकपा माओवादी केन्द्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूले जितेको चौथो निर्वाचन क्षेत्रपनि छाडेर पाहुनाका रुपमा गोर्खा जानुभएको छ । रोल्पा, सिरहा, काठमाडौंहुँदै यसअघि जितेको चितवन ३ छाडेर छाडेर प्रचण्ड गोरखा पुग्नुभएको हो ।
प्रचण्ड यसपटक गोरखा २ मा उम्मेदवार बन्नुभएको छ । उक्त क्षेत्रबाट अघिल्लो निर्वाचनमा तत्कालीन नयाँ शक्ति नेपालबाट डा. बाबुराम भट्टराई निर्वाचित हुनुभएको थियो । आफूले चितवनमा जित्न नसक्ने निश्कर्षका साथ बाबुरामकी छोरी मानुसीलाई काठमाडौंमा प्रत्यक्ष र बुहारीलाई समानुपातिकमा उम्मेदवारी दिएर बाबुरामकै क्षेत्रमा प्रचण्ड पाहुना बनेर पुग्नुभएको छ ।
गोरखा २ मा नेकपा एमालेबाट अब्दुस मिया उम्मेदवार हुनुहुन्छ । प्रखर बक्ता तथा सामाजिक अभियन्ता मियाँलाई मत माग्नेहरु सामाजिक सञ्जालमा निकै देखिएका छन । राष्ट्रिय समस्या प्रचण्ड नै भएको भन्दै अब्दुसलाई जिताएर प्रचण्डलाई मत नदिन अपिल पनि आइरहेको देखिन्छ ।
पूर्वप्रधानमन्त्री दाहाल हरेक निर्वाचनमा क्षेत्र मात्रै नभई जिल्ला नै फेरेर उम्मेदवार बन्दै आउनु भएको छ । उहाँले रोल्पा, काठमाडौं, सिरहामा चुनाव लडनु भएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनमा प्रचण्डले काठमाडौं १० र रोल्पा २ मा उम्मेदवारी दिनुभएको थियो । त्यसबेला उहाँ दुवै क्षेत्रमा विजयी भएपछि रोल्पा छाडेर काठमाडौं १० रोज्नुभएको थियो ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० र सिराहा ५ रोजे पनि काठमाडौं १० मा दोहोर्याउँदा कांग्रेसका राजन केसीसँग पराजित हुनुभयो । सिरहामा मतगणनामै धाँधली गरेर बिजय घोषित गरिएको थियो । हरेक पटक क्षेत्र फेरेपछि आउने आलोचना र जनतालाई ढाँटेको कुरा पुष्टि भएकै कारण प्रचण्ड आफैले उम्मेदवारी मनोनयनकै दिन आफ्नो लाचारी शैली प्रस्तुत गर्नुभयो ।
गोरखामा मनोनयन दर्ता गराउँदै प्रचण्डले भन्नुभयो, ‘मैले पहिला रोल्पा, काठमाडौं, मधेसमा सिरहा र चितवनबाट निर्वाचन लडेको छु । यसरी देशको पूर्व–पश्चिम, मधेस–पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ ।’
प्रचण्डपछि नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ देखिनुभएको छ । उहाँले बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । श्रेष्ठ सत्ता गठबन्धनका तर्फबाट बारामा उम्मेदवार बन्नुभएको हो । श्रेष्ठको गृहजिल्ला तनहुँ हो । श्रेष्ठले २०७४ मा एमालेबाट कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ १ मा पराजित गर्नुभएको थियो । तर यसपटक पौडेललाई नै तनहुँ १ छाडेर श्रेष्ठ बारा ४ मा पाहुना बन्न पुग्नुभएको छ ।
मन्त्री बन्नकै लागि श्रेष्ठ एमाले नेकपा एसतिर लाग्नुभएको थियो । जसरी पनि मन्त्री बन्नुपर्यो भन्दै एमालेअध्यक्ष केपी शर्मा ओली र नेताहरुसँग पटक पटक अनुनय बिनय गर्दा पनि नपाएपछि शेरबहादुर देउवासँग साँठगाँठ गरी अन्तिम समयमा श्रेष्ठले पार्टी छाडेर हिडनु भएको थियो ।
कांग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री वीरबहादुर बलायर पनि आफ्नो गृहजिल्ला डोटीबाट एकल सिफारिस भए पनि कैलालीका पाहुना लाग्न जानुपरेको छ । डोटीमा स्थानीय तहमा कांग्रेसको एकछत्र भएपनि कांग्रेसले छाडनु परेको छ । कांग्रेसले आफूले उम्मेदवार पाउनुपर्ने भन्ने रस्काकस्सी नै चले पनि एकीकृत समाजवादीको भागमा परेपछि बलायर पाहुना लाग्न जानुभएको हो । बलायरले कैलाली ४ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । बलायरको मुख्य प्रतिस्पर्धा एमाले सचिव लेखराज भट्टसँग हुने देखिएको छ । सो निर्वाचन क्षेत्र भट्टको गढ मानिन्छ ।
यसैगरी लोकतान्त्रिक समाजवादीका नेता अनिलकुमार झा पनि पाहुना उम्मेदवार बनेर धनुषा ३ पुग्नुभएको छ । झा अघिल्लो निर्वाचनमा रौतहट १ बाट उम्मेदवार भई निर्वाचित हुनुभएको थियो । लोसपाकै नेता राजेन्द्र महतोले २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधिलाई पराजित गरी बिजयी बन्नभएको थियो । झाको प्रतिस्पर्धा एमाले नेतृ जुलीकुमारी महतोसँग हुँदैछ ।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि पाहुना उम्मेदवारको सूचीमा पर्नुभएको छ । उहाँ काठमाडौं ५ मा उम्मेदवार बन्नुभएको छ । तनहुँ २ बाट सिफारिसमा पर्नुभएका पौडेलले काठमाडौं ५ मा उम्मेदवार बन्नुभएको हो ।
यो क्षेत्रमा नैनसिंह महर, अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको चर्चा थियो। काठमाडौं ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पौडेलको भिडन्त हुने भएको छ । पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं ५ एमालेको गढ मानिन्छ ।
अर्काे पाहुना उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रकी नेतृ एव पूर्वसभामुख ओनसरी घर्ती पर्नुभएको छ । उहाँ पाहुना उम्मेदवारका रूपमा काठमाडौं २ बाट चुनाव लडनुभएको छ । रोल्पाकी घर्ती २०७४ सालमा समानुपातिकबाट सांसद हुनुभएको थियो । २०७० सालमा भने रोल्पाबाट निर्वाचित हुनुभएको थियो । यसपटक साइनो सम्बन्ध नै नभएको काठमाडौं २ बाट उम्मेदवार बन्नुभएको छ ।
यसैगरी कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर गृह जिल्ला बर्दिया छोडेर बाँके ३ बाट चुनाव लडनु भएको छ । गृहक्षेत्र बर्दिया २ गठबन्धनमा माओवादी केन्द्रको भाग परेपछि राठौरले बाँके ३ रोज्नुभएको हो । बाँके ३ बाट २०७४ निर्वाचनमा एमालेका नन्दलाल रोकाय निर्वाचित हुनुभएको थियो । यसपटक राठौंरसँग एमाले बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिको प्रतिस्पर्धा हुँदैछ ।
कक्षपति सो क्षेत्रमा निकै लोकप्रिय हुनुहुन्छ । यसैगरी सञ्चारकर्मीबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछाने पनि पाहुना बनेर चितवन पुग्नुभएको छ । लामिछानेले चितवन २ बाट नेपाल स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएको छ । चितवन २ एमालेका लोकप्रिय नेता कृष्णभक्त पोखरेलको निर्वाचन क्षेत्र हो । सो क्षेत्रका मतदाता पोखरेलबाहेक अरुलाई मत हाल्नै चाहन्नन ।
पाहुना बनेर गएका यी सवै उम्मदवारलाई आफू चुनाव लडिरहेको निर्वाचन क्षेत्र कहाँ कहाँ पर्छ भन्ने जानकारी समेत छैन ।













प्रतिक्रिया दिनुहोस्