काठमाडौं, २७ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका उम्मेदवार महीन्द्र राय यादवलाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति आपत्ति जनाएको छ । सत्ता गठबन्धनका चार घटकले केही उम्मेदवारको प्रष्टीकरण गर्ने उद्देश्यले हिजो जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको लोसपाले जनाएको छ ।
सत्ता गठबन्धनको उक्त विज्ञप्ति कांग्रेस सभापति शेरबहादुर देउवासँग २२ असोजमा भएको सहमतिविपरीत रहेको लोसपाको ठहर छ । बुधबार कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै सर्लाही २ मा गठबन्धनका महीन्द्र राय यादव साझा उम्मेदवार रहेका जनाएका थिए ।
यादव माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर उठेका छन् । सोही कारण प्रचण्डको दबाबमा बुधबार सत्ता गठबन्धनले विज्ञप्ति निकालेको स्रोतले बतायो । लोसपाले सर्लाही २ मा मित्रवत प्रतिष्पर्धा गर्ने, सर्लाही २ (क) मा कांग्रेसको उम्मेदवार हुने तथा सर्लाही २ (ख), सर्लाही १ (क), महोत्तरी १ (क) र महोत्तरी २ (क) मा लोसपाको उम्मेदवार हुने सहमति भएको प्रष्ट पारेको छ ।














प्रतिक्रिया दिनुहोस्