जनता टाइम्स

२७ आश्विन २०७९, बिहीबार १६:०९

‘९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठुला दलबाटै’


उदयपुर, २७ असोज । करिब ९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठुला राजनीति दलहरूबाटै हुने गरेको सरोकारवाला निकायले जनाएका छन् । यसकारण आगामी निर्वाचनमा यस्तो घटना नदोहोर्याउन र आचार संहितालाई गम्भीरतापूर्वक लिन जोड दिइएको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरले आज कर्मचारी मिलन केन्द्रमा आयोजना गरेको निर्वाचन आचारसंहिता ०७९ को विषयमा जानकारी दिन आयोाजना गरिएको कार्यक्रमका सहभागीहरूले मुख्य र जिम्मेवार दलबाट आचारसंहिता उल्लंघन हुने गरेको आरोप लगाउनुभयो ।

आचारसंहितामा उल्लेख भएका ९० प्रतिशत नियम उल्लंघन हुने गरेको विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारले बताउनुभयो । कार्यालयका प्रमुख खेमराज कोइरालाले आगामी ४ मंसीरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार, दललगायत सरोकारवाला पक्षले पालाना गर्नु पर्ने आचारसंहितको बिषयमा जानकारी गराएको थियो ।