जनता टाइम्स

२७ आश्विन २०७९, बिहीबार १७:२०

बाढी-पहिरोले दैलेख चामुण्डाका ४० घरपरिवार विस्थापित, ९६ घरधुरी जोखिममा


सुर्खेत, २७ असोज । १९ असोजदेखि लगातार परेको वर्षाले देशभर ठूलो धनजनको क्षति भएको छ । मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दसैं कर्णालीवासीका लागि निकै पीडादायी बनेको छ । सर्वसाधारणले बल्लतल्ल दसैंको टीका लगाउन त भ्याए तर वर्षा, चिसो र हिलोका कारण देश विदेशबाट दसैं मनाउन घर आएकाहरूले परिवारमा बसेर आपसमा खुसी साट्ने अवस्था भएन ।

दसैंको टीकाकै दिन बिहानैदेखि पानी परेको थियो। यही पानीका कारण सर्वसाधारणले विपद्को सामना गर्नुपर्यो । अविरल बर्षातका कारण कर्णालीका विभिन्न स्थानजस्तै दैलेखमा पनि ठूलो क्षति भएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाका विभिन्न वडा ४० घरपरिवार विस्थापित भएको छन् ।

नगरपालिकाका मेयर गणेशकुमार शाहीले वर्षातका कारण घर भत्किँदा ४० परिवार विस्थापित भएका छन् । उनीहरू आफन्तको घरमा आश्रय लिइरहेका छन् । मेयर शाहीका अनुसार ९६ घरधुरी उच्च जोखिममा छन् । विपद्का कारण पीडित परिवारजनहरुलाई सहयोगको लागि कर्णाली प्रदेश सरकार तथा नेपाल सरकार र दातृ निकायहरूसँग मेयर शाहीले सहयोगका लागि आह्वान समेत गरेका छन् ।