काठमाडौं, २८ असोज । सिराह गोलबजारका अंशु सदाको विराटनगरमा हत्या भएको छ । विराटनगर बसपार्कको नजिक रहेको न्यू अप्सरा गेष्ट हाउसमा १८ वर्षीया युवकको हत्या भएको हो । सदालाई अपहरण गरेर विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरिएको प्रहरीले जनाएको छ ।
अपहरणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए । १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो । सामान्य किसान परिवारका सदा परिवार निम्न आर्थिक अवस्थाका हुन् । उनको हत्या २७ गते बेलुकै भएको कोइरालाको भनाइ छ ।
युवकलाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरि शवलाई बक्स पलङभित्र हालेर अपहरणकारी भाग्ने कोशिसमा थिए । प्रहरीले घटनामा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाका विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन् । घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमै छ ।













प्रतिक्रिया दिनुहोस्