जनता टाइम्स

१७ श्रावण २०७६, शुक्रबार १२:१४

बाढी र डुबान समस्या हटाउन दीर्घकालिन योजना बनाउदै सरकार


काठमाडौं, साउन १७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पिडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताउनुभएको छ ।

प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने साँसदहरुसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले बाढी पिडितहरुलाई तत्कालिन भन्दा पनि दीर्घकालिन समाधानका लागि सरकारले योजना बनाइरहेको बताउनुभयो । “बाढी र डुबानको समस्या समाधानको दीर्घकालिन उपायको लागि सरकारले योजना बनाउदैछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “बर्षेनी देशमा हुने यस प्रकारका समस्याको दीर्घकालिन समाधानका लागि समुदायलाई नै परिचालन गर्नुपर्दछ । बाढी र डुबानका कारण हुने जनधनको क्षती न्यून गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन पनि गर्नु पर्दछ । ”

केही समय भित्रै बाढीले क्षती पु¥याएका प्रदेश नं २ का जिल्लाको भ्रमण गर्ने प्रधानमन्त्रीले साँसदहरुलाई बताउनुभएको छ । “केही समयपछि म बाढीको क्षतीको अवलोकन र राहातको केही कार्यक्रम सहित प्रदेश–२ मा आँउछु” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री समक्ष बाढीपीडित क्षेत्रका सांसदको तर्फबाट नेकपाका प्रदेश २ अध्यक्षसमेत रहेका सांसद प्रभु साहले संघीय सरकारले राहतका लागि प्रदेश सरकारमार्फत पठाएको पैसा मधेसवादी दलका कार्यकर्तामार्फत बाँडिदा वास्तविक पीडितले नपाएको गुनासो पोख्नु भयो ।

नेकपा प्रदेश अध्यक्ष साहले जनताले आफ्नै घर आँगनमा कम्युनिस्ट पार्टीको सरकार देख्नका लागि पनि संघीय सरकारले नै बाढीपीडित जनतालाई राहत दिनुपर्ने बताउनु भयो । नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेलसहित सो प्रदेशबाट निर्वाचित नेकपाका सांसदले प्रधानमन्त्रीलाई भेट्नु भएको थियो । भेटमा नेकपाका महासचिव विष्णु पौडेलसमेत सहभागी हुनुहुन्थ्यो ।