जनता टाइम्स

३० आश्विन २०७९, आईतवार १८:२७

आईसीसी ट्वान्टी–२० विश्वकप : नेदरल्यान्ड्सको विजयी सुरुआत


काठमाडौं, असोज ३० । नेदरल्यान्ड्सले आइतबार युनाइटेड अरब इमिरेट्स ९यूएई०लाई ३ विकेटले हराउँदै आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । अस्ट्रेलियाको भिक्टोरियास्थित साइमण्ड रंगशालामा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य नेदरल्यान्ड्सले एक बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गरेको हो ।

नेदरल्यान्ड्सका म्याक्स ओ‘डोडले सबैभन्दा धेरै २३ रन बनाए । कोलिन एकरम्यानले १७, कप्तान स्कट इडवार्डले अविजित १६, टिम प्रिङ्गलले १५, बस डी लीडले १४ र विक्रमाजितसिंहले १० रन बनाए । यूएईका जुनैद सिद्धिकीले तीन विकेट लिँदा बासिल हमीद, आयान अफजल खान, कार्थिक मेयाप्पन र जहूर खानले एक एक विकेट लिए ।

त्यसअघि यूएईका लागि मुहम्मद वासीमले ४१, बृत्या अरविन्दले १८, कशिफ दाउदले १५ र चिराग सुरीले १२ रन बनाएका थिए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेदरल्यान्ड्सका बस डी लीडले तीन विकेट लिँदा फ्रेड क्लासेनले दुई विकेट लिए । प्रिङ्गल र रोलोफ भान डेर मार्वेको नाममा एक एक विकेट रह्यो ।

जितसँगै नेदरल्यान्ड्सले समूह ‘ए’मा दुई अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा छ । समान दुई अंक जोडेको नामिबिया शीर्ष स्थानमा छ । नामिबियाले आजै सम्पन्न पहिलो खेलमा पूर्व विजेता श्रीलंकालाई ५५ रनले स्तब्ध बनाएको थियो । प्रतियोगितामा सोमबार समूह ‘बी’को स्कटल्यान्डले वेस्ट इन्डिज र आयरल्यान्डले जिम्बाब्वेको सामना गर्नेछ ।