लन्डन, १ कात्तिक । बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत हुनुभएको छ । लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत हुनुभएको हो । यसअघि अन्य काउन्सिलमा नेपालीहरू निर्वाचनमार्फत सो पदमा पुगे पनि काउन्सिलको रिक्त पदमा मनोनीत हुने उहाँ पहिलो नेपाली महिला हो ।
काठमाडौं जन्मघर भएकी लोहनी हाइवे तथा रोड डिजाइन, ट्राफिक व्यवस्थापनमा दखल राख्ने इन्जिनियरसमेत हुनुहुन्छ । काउन्सिलभित्र प्राविधिकको रूपमा राम्रो नतिजा निकाल्न सकेको भन्दै साउथ वेस्टन विनचेस्टर लोहनीलाई सो जिम्मेवारी दिएको हो । १९ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएकी लोहनीले १४ वर्ष वेजिङस्टक काउन्सिलमा कामको अनुभव बटुल्नुभएको थियो । लोहनीले काउन्सिलभित्र आफूले गरेको प्रभावकारी कार्यकुशलताको मूल्यांकन गर्दै सो पदमा मनोनीत भएको बताउनुभयो ।
उहाँले आगामी स्थानीय निर्वाचनमा पुनः काउन्सिल पदमा चुनाव लड्ने तयारी गर्नुभएको छ । उहाँ विगत एक वर्षदेखि फिलाइन्स् सिभिल इन्जिनियरको रूपमा कार्यरत हुनुहुन्छ । उहाँले बेलायतको साउथ ह्याम्टन युनिर्भसिटीबाट इन्जिनियरिङ गर्नुभएको हो । उहाँ इस्टिच्युट अफ सिभिल इन्जिनियर (आइसीइ) केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।
सामाजिक सेवामा समेत रुचि राख्ने लोहनीले नेपालमा विभिन्न सामाजिक क्षेत्रका कार्यमा आर्थिक सहयोगसमेत गर्नुभएको छ । नेपालमा २०७२ सालमा भूकम्प गएका बेला उहाँकै सक्रियतामा स्थानीय रूपमा करिब आठ लाख नेपाली रुपैयाँ संकलन गरेर भूकम्प पीडितलाई सहयोग गरिएको थियो । उहाँले हेल्प नेपाल नेटवर्कमार्फत सहयोग गर्दै आउनुभएको छ । उहाँका श्रीमान् सुमिन लोहनी हस्पिटालिटी व्यवसायमा आबद्ध हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्