जनता टाइम्स

२ कार्तिक २०७९, बुधबार ०८:४१

सत्ता गठबन्धन तासको घर हो, एमालेको तुफानले मंसिर ४ मा ढालिदिन्छ : कैलाश ढुंगेल


रामेछाप, कात्तिक २ । नेकपा एमालेका केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले नेकपा एमाले अहिले युद्ध मैदानमा होमिएको बताउनुभएको छ ।

नेकपा एमाले रामेछाप सुनापति गाउँपालिकाको निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका ढुङ्गेलले अहिले पार्टीलाई आलोचना गर्ने र उम्मेदवारलाई अप्ठेरो पार्ने बेला नभएको बताउनुभयो । ‘ युद्धमा हिँडेको सैनिकले बन्दुक फाल्यो भने के हुन्छ ? त्यस्तो कार्यकर्ताले पार्टी र आन्दोलन बुझेको छैन, भन्ने बुझ्नु पर्छ‘, ढुङ्गेलले भन्नुभयो ।

मङ्सिर ४ एमालेको लागि युद्ध भएको बताउँदै त्यति बेलासम्म सबै खालका असन्तुष्टिलाई थन्क्याएर अघि बढ्न उहाँले आग्रह गर्नुभयो । आन्तरिक असहमति केही छन् भने मङ्सिर ४ पछि छलफल हुने उहाँले बताउनुभयो ।

आफू तीन वर्ष वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा रामेछापमा विकासको जग बसाएको बताउँदै त्यसलाई पूरा गर्न पतिनिधि सभा मार्फत केन्द्र सरकारमा जान लागेको उहाँले बताउनुभयो । यो अभियानलाई साथ दिन उहाँले नेता, कार्यकर्ता र मतदातालाई आग्रह गर्नुभयो ।

माओवादी नेताहरूले माओवादी र कम्युनिष्ट आन्दोलनलाई पैसासँग साटेको ढुङ्गेलले बताउनुभयो । त्यसैले माओवादी अब कम्युनिष्ट पार्टी नरहेको ढुङ्गेलले स्पष्ट पार्नुभयो । माओवादीका नेताहरूले कार्यकर्तालाई रुखमा भोट हाल्न बाध्य पारेका उहाँले बताउनुभयो । ‘माओवादीले पैसाका बोरासँग कम्युनिष्ट आन्दोलनलाई साट्यो’, उहाँले भन्नुभयो ।

गठबन्धन कांग्रेस र माओवादीको रहर नभएर बाध्यता भएको उहाँले बताउनुभयो । एमालेले जित्यो भने नेपाल र नेपाली बलियो हुन्छन् भनेर विदेशीले गठबन्धन गराइदिएको उहाँले प्रष्ट पार्नुभयो । गठबन्धनसँग कुनै योजना नभएकोले उसले केही गर्न नसक्नु उहाँले बताउनुभयो ।

गठबन्धनको योजना, विचार र दृष्टिकोण केही नभएको उहाँले बताउनुभयो । ‘मरेका प्राणीहरूको, निष्प्राणहरूको गठबन्धन हो यो, गठबन्धन तासको घर हो एमालेको तुफानले मङ्सिर ४ मा ढालिदिन्छ’, ढुङ्गेलले भन्नुभयो । मङ्सिर ४ का निर्वाचन न्याय, समानता र विकासको लागि एमालेले लडेको उहाँले बताउनुभयो । त्यसैले यो लडाइँमा साथ दिन उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।