जनता टाइम्स

१७ श्रावण २०७६, शुक्रबार १५:२६

लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्र पूरा गर्न प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं, साउन १७

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभएको छ । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित कोषका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनीलाई बुद्ध जन्मस्थल मात्र नभई बौद्ध धर्म र दर्शनको उद्गमस्थलका रुपमा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न निर्देशन दिनुभएको हो ।

जापानी विज्ञ किन्जोले सो गुरुयोजना तयार गर्नुभएको थियो । कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठीका अनुसार बैठकमा रामग्राम पवित्र स्तूपाको गुरुयोजना बनाउन, कपिलवस्तु विकासको दिगो संरचना तयार गर्न, लुम्बिनी, कपिलवस्तुदेखि देवदहसम्म बौद्ध पर्यटन ल्याउने वातावरण सिर्जना गर्न र सो क्षेत्रमा विद्युतीय मेट्रोलाइन निर्माणको तयारी गर्न पनि निर्देशन दिनुभएको हो ।

उपाध्यक्ष त्रिपाठीले लुम्बिनीलाई विशिष्ट बौद्ध अध्ययनको केन्द्रका रुपमा विकसित गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई ध्यान दिई आगामी बुद्धजयन्ती अन्तर्राष्ट्रिय सम्मेलनसहित मनाउने निर्णय भएको जानकारी दिनुभयो ।