जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार ०७:४३

दमकमा यसरी बन्दैछ नेपाल–चीन मैत्री औद्योगिक पार्क


काठमाडौं, साउन १८

झापाको दमकमा नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्डको शुक्रबार बसेको बैठकले ६४ अर्ब रुपियाँ लगानी स्वीकृत गरेसँगै सो पार्क निर्माण हुने भएको हो । सो पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न समेत बैठकले स्वीकृति प्रदान गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको लगानी बोर्डको बैठकले पार्क निर्माणका लागि ६४ अर्ब रुपियाँ स्वीकृत गरेको हो । सो पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न समेत स्वीकृति प्रदान गरेको जानकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दिनुभयो ।

तिब्बतको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लगानीमा ‘दमक क्लिन इन्डस्ट्रियल पार्क’ नाम दिएको सो पार्क निर्माण हुन लागेको हो । लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रदेश १ को राजधानी विराटनगरमा ‘लजिस्टिक पार्क’ निर्माण गर्नका लागि सीजी ग्रुप र सर्राफ ग्रुपलाई अध्ययन गर्ने अनुमति दिइएको जानकारी समेत प्रमुख कार्यकारी अधिकृत अधिकारीले दिनुभयो । यो पार्क निर्माणका लागि भदौमा सम्पन्न लगानी सम्मेलनमा सीजी ग्रुप र सर्राफ ग्रुुपबीचमा समझदारी पत्रमा ९एमओयू०मा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष ओलीले कसरी परियोजनाहरूको कार्यान्वयन छनोटका कार्यहरू चाँडो छिटोछरितो गर्न सकिन्छ र त्यसका उपायहरू चाँडोभन्दा चाँडो लिएर आउन निर्देशन दिनुभएको जानकारी प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो ।

समझदारी पत्रको कार्यान्वयन स्वरूप अध्ययन गर्न अनुमति दिइएको जानकारी समेत उहाँले दिनुभयो । विराटनगरमा निर्माण गरिने पार्कको निर्माण लागत सात अर्ब १८ करोड रुपियाँको रहेको छ । त्यसैगरी, बैठकले प्रदेश २ को राजधानी जनकपुरमा लजिस्टिक पार्क’ निर्माणका लागि स्वीकृति प्रदान गरिएको जानकारी उहाँले दिनुभयो । यो पार्क निर्माणको जिम्मेवारी नेपाली कम्पनी ग्रीन इन्भेस्टलाई दिनका लागि स्वीकृति प्रदान गरिएको हो । उक्त पार्कको कुल निर्माण लागत ६ अर्ब २० करोड रुपियाँ रहेको छ ।

त्यसैगरी, बैठकले ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणका लागि प्रस्ताव कम्पनीमध्ये चयन भएका दुईवटा कम्पनीलाई अबको २१ दिनभित्र सिलबन्दी प्रस्ताव पेस गर्ने गरी निर्णय गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत अधिकारीले दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले भन्नुभयो, “दुईवटा कम्पनीमध्ये एउटा चीनको चाइना कन्स्ट्रक्सन पावर रहेका छन् भने अर्को चाहिँ जापान र कतारको ज्वाइन्ट भेन्चरका रूपमा रहेको कम्पनी रहेका छन् । यी कम्पनीले अबको २१ दिनभित्र सिलबन्दी बोलपत्र प्रस्ताव पेस गर्नेछ र त्यसको मूल्याङ्कनबाट विकासकर्ता कम्पनीको छनोट गरिने छ । ”

गत भदौमा सम्पन्न लगानी सम्मेलनमा सो परियोजनाका लागि पाँचवटा कम्पनीकोे प्रस्ताव परेको थियो । ती पाँचवटा प्रस्तावमध्ये मूल्याङ्कन समितिले मूल्याङ्कन गरेर दुईवटा ‘एलिजिबल’ भएको सूची लगानी बोर्डसमक्ष पेस गरेको थियो । सार्वजनिक–निजी साझेदारी तथा लगानी बोर्ड ऐन, २०७५ आइसकेपछिको यो लगानी बोर्डकोे दोस्रो बैठक हो । बैठकमा ऐनको कार्यान्वयनसँगसँगै भदौमा सम्पन्न लगानी सम्मेलनमा पेस भएका परियोजनाहरूसँग सम्बन्धित प्रस्ताव समेत पेस भएको थियो । यो सिलसिलामा लगानी सम्मेलनको अवसर र त्यसपछि आह्वान नगरिएका प्रस्तावहरू समेत प्राप्त भएको जानकारी प्रमुख कार्यकारी अधिकृत अधिकारीले दिनुभयो ।