जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार ०९:३७

तलबभत्ता लिँदैनन् ढोरपाटन नगरपालिकाका मेयर, निजी खर्चमा बनाउँछन बिपन्नको घर


बाग्लुङ, साउन १८ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले अहिलेसम्म आफैले पाउने तलब तथा भत्ता लिनुभएको छैन । निर्वाचनकै बेला तलबभत्ता नलिने घोषणा गर्नुभएका नेपालीले अहिलेसम्म आफ्नो सुबिधा नलिनुभएको हो । उहाँले मासिक तलबका रूपमा पाउने ३८ हजार रुपैयाँ र भत्ता तथा नगरपालिकाबाट पाउने कुनै पनि सेवासुविधा नलिनुभएको हो ।

उहाँका लागि गाउँपालिकाले तलबभत्ता शीर्षकमा रकम विनियोजन गरेको छैन । मेयर नेपालीले निजी खर्चमा गरिब तथा विपन्नको घर निर्माण तथा निजी स्रोतका शिक्षकलाई तलब खुवाउन आर्थिक सहयोगसमेत गर्दै आउनुभएको छ ।

त्यसो त मेयर नेपालीले जनताकोसेवाका लागि बागलुङको बुर्तिबाङबाट देखि गण्डकी प्रदेशको राजधानी पोखरासम्म निःशुल्क बस सेवा सञ्चालन गर्नुभएको छ । मेयर देवकुमार नेपालीको निजी लगानीमा बस–सेवा सञ्चालनमा आएको हो । ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, शारिरीक रुपमा अपांग, एकल महिला र जटिलखालका विरामीहरुका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ ।

बाग्लुङकै बडिगाड गाउँपालिका–५ का वडाध्यक्ष अर्जुनप्रसाद खरेल पनि नेपाली जस्तै सच्चा जनप्रतिनिधिका रुपमा स्थापित हुनुहुन्छ । खरेलले पनि तलब तथा भत्ता लिनुभएको छैन । उहाँले आफ्नो पाँचवर्षे कार्यकालमा तलबभत्ता नलिने घोषणा गर्नुभएको थियो । जसअनुसार उनले पाउने मासिक १८ हजार रुपैयाँ वडाको शैक्षिक क्षेत्र सुधार्न खर्च गर्नुभएको छ । त्यो रकम उहाँले स्थानीय भानु मावि र थानापति प्राविमा खर्च गर्नुभएको छ ।

बाग्लुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाइलीले पनि आफूले पाउने भत्ता वडाको स्वास्थ्य र शिक्षाको क्षेत्रमा खर्च गर्ने घोषणा गर्नुभएको छ । गण्डकी प्रदेशमा वडा सदस्यले मासिक सात हजार रुपैयाँ भत्ता पाउँछन् । सो रकम जम्मा गरेर वार्षिक रूपमा एकमुष्ट उहाँले स्वास्थ्य संस्था र विद्यालयलाई उपलब्ध गराउँदै आउनुभएको हो । उहाँले वडाको स्वास्थ्य संस्थामा स्ट्रेचरको व्यवस्था गर्नुका साथै विद्यालयमा छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

यस्तै काठेखोला गाउँपालिका–१ बाग्लुङका वडाध्यक्ष खडकबहादुर थापाले पनि आफूले तलबका रूपमा पाउने रकम विद्यालयलाई दान दिँदै आउनुभएको छ । वडाध्यक्षले पाउने मासिक १८ हजार रुपैयाँ उहाँले आफ्नै वडाको धिमिकरिना माविमा खर्च गर्दै आउनुभएको हो ।