जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार १२:१३

पहिरोले दोलखाको जुँगूमा ठूलो क्षती : अभिभावकको उद्धार गर्न आएका नै भए बेपत्ता


दोलखा, साउन १८ । अबिरल बर्षासँगै आएको पहिरो र बाढीले दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ र २ मा ब्यापक क्षति पुर्याएको छ । बाढी पहिरोमा परी २ जना बेपत्ता भएका छन भने ३० भन्दा बढी घरमा क्षति पुर्याएको छ । पहिरोको कारण ३० भन्दा बढी घर उच्च जोखिममा रहेको छ ।

बाढीका कारण गौरीशंकर गाउँपालिकाको झगरे, राजपु, बाजुमु र यार्सामा गरी ३० घर भन्दा बढीमा क्षति पुगेको छ भने एक जना वेत्तपा रहेका छन । बेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर २ का ५५ वषीया जगतबहादुर खत्री रहेका छन् । भने अर्का सोही वडाका १८ बर्षीय निशान खड्का पनि बेपत्ता रहेका छन् । राजधानी काठमाडौंबाट जुँगु आउदै गरेको यात्रुवाहक बस जुँग खोलामा फसेपछि उद्धारका लागि आएका खड्का उद्धारकै क्रममा पहिरोमा परेर बेपत्ता भएका हुन ।

प्रहरी र स्थानीयको सक्रियतामा वसका रहेका १७ जना यात्रुहरुको भने सकुसल उद्धार गरिएको छ । सोही वसमा रहेका आफ्ना अभिभावक लिन आएका खड्का भने बेपत्ता भएका हुन् । बेपत्ताहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

पहिरोमा परी केही सामान्य घाइते भएका छन । यसैबीच दोलखा १ का प्रदेशसभा सदस्य बिशाल खडकाले जुँगुका पहिरोपीडितको सहयोगका लागि सवैसँग अपिल गर्नुभएको छ । आफ्नो तर्फबाट तत्काल एक लाख रुपैया पीडितको सहयोगका लागि कोषमा राख्ने घोषणा गर्दै खडकाले सो अपिल गर्नुभएको हो ।

‘समाजमा हुने सबै चिजको जिम्मा राज्यले नै लिनुपर्छ, तथापि आज जुंगु (दोलखा) ले ब्यहोर्नु परेको बिपदप्रति तपाईं हामी सबैको मानवतावाद उद्देलित हुन्छ । त्यसैले हामी सबैले प्रतिबद्धता जनाऊँ : जे सक्छौ त्यही गरौं, म सरकारसँग पनि अधिकतम जोड गर्नेछु, पीडितको राहतका लागि । तथापी आफू पनि मानव हुनु र जुंगुँबासी पनि हुनुको नाताले अनुरोध गर्न चाहन्छु कि देश बिदेश जहाँ भए पनि धेरथोर सहयोग जुटाउन प्रयत्न गरौं । म आफ्नो तर्फबाट १ लाख रुपैया राखी कोशको शुरूवात गर्न ऐक्यबद्धता जनाउँदछु,’ सांस्द खडकाले भन्नुभयो ।

उहाँले जनप्रतिनिधिको नाताले पीडितको सहयोगका लागि निरन्तर लाग्ने प्रतिवद्धता पनि गर्नुभएको छ । ‘म एक जनप्रतिनिधिको हैसियतले पनि आफ्नो संस्थागत प्रयत्नमा निरन्तर लागि पर्नेछु, तपाईं हामी सबै दुख र सुखमा संगसंगै रहन सकौ र सबै निराशा र चिन्तालाई फालेर हामी सबैको आशा र भरोशाको पुन्ज निशान खड्का लाई पनि भेट्न सकौ,’ खडकाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।