जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार १३:५२

समृद्ध नेपाल र सुखी नेपालीको अभियान सार्थक बनाउन नमुना बन्यो भक्तपुर


रमेश गिरी, भक्तपुर । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सार्थक बनाउन भक्तपुर जिल्ला नमूनाको रुपमा अगाडि बढेको बताउनु भएको छ । आज हनुमन्ते सफाई अभियानको ७५ औं हप्ताको अवसरमा हरियाली भक्तपुर बनाउने उदेश्यले सूर्यविनायक नगरपालिका र वातावरण विभागले आयोजना गरेको बृक्षारोपण एवं हरियाली कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले कुनै पनि देश सरकारको मात्रै प्रयासबाट विकास हुन नसक्ने बताउदै विकासलाई पूर्णता दिन र समृद्ध देश बनाउन सबै मिलेर गर्नुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “जनताले सोचेको कुरा, राजनीतिक दलहरुले बोलेको कुरा र जनताको अपेक्षा अनुसारको विकास गर्न सबै मिलेर जानु पर्छ ।” देशको राजनीतिक परिवर्तनसंगै युग परिवर्तन भएको चर्चा गर्दै उहाँले देश र जनताको धेरै आकांक्षा र आवश्यकता रहेको तर समय छोटो रहेकाले विकासमा आमदेशवासीको सहभागिता अनिवार्य रहेको औल्याउनुभयो ।

भक्तपुरको विकासले अन्य जिल्लालाई पनि प्रेरित गरिरहेको बताउदै मन्त्री बस्नेतले भक्तपुरका सांसद महेश बस्नेतको नेतृत्वले भक्तपुरको सिंगो विकास अगाडि बढेको बताउनुभयो । भक्तपुरलाई पर्यटकीय केन्द्र बनाउन र निर्माणाधिन प्राणी उद्यानलाई पूर्णता दिन सरकार अग्रसर रहेको भनाई राख्नुभयो ।

कार्यक्रममा प्रतिनिधी सभाको सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले भक्तपुरको मनोहरा पुलदेखि सूर्यविनायकसम्म हरियाली क्षेत्र बनाउने अभियान आजबाट सुरु भएको बताउनुभयो । उहाँले यो अरनिको राजमार्ग खण्डको मनोहरादेखि सूर्यविनायकसम्मको ६ लेन सडकको बिच भागमा विरुवा रोप्ने र दूबो लगाएर हरियाली बनाउने अभियान सुरु भएको बताउनु भयो । सांसद बस्नेतले भन्नुभयो–“यो क्षेत्रलाई हरियाली बनाउन वातावरण विभागले एक करोड रुपैया विनियोजन गरेको छ, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाबाट यसका लागि सहयोग हुनेछ, हामी यो राजमार्गलाई हरियाली, सुरक्षित र उज्यालो राजमार्ग बनाउँछौ ।”

यो सडकमा सोलार लाईटको व्यबस्था गरेर उज्यालो बनाउने बताउदै उहाँले भन्नुभयो–“भक्तपुरबाट ईटा भट्टा हटाएर ईटा भट्टा मुक्त, खानेपानीको मूल सफाई र बाढी मुक्त जिल्ला बनाउने अभियान पनि सुरु भएको भनाई राख्नुभयो । हनुमन्ते सफाई अभियानले मानिसहरुको मन पनि सफा गरेको टिप्पणी गर्दै उहाँले अभियानको विरोध गर्नेहरु हुनमन्तेमा एक दिन कलकल सफा पानी बगेको देखेपछि निहुरिएर हिड्नु पर्ने दिन आउने चर्चा गर्नुभयो । उहाँले डिपिआर तयार भएको सूर्यविनायकमा निर्माण हुन लागेको प्राणी उद्यानको निर्माण कार्य छिटै सुरु हुने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का सांसद रजनी जोशीले विकासमा राजनीति गर्नु नहुने औल्याउँदै सबैको सहयोग र एक्यबद्धता हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हुनमन्ते सफाई र अरनिको राजमार्ग सफाई अभियान देश कै नमूनाको अभियान भएको बताउदै यसबाट अन्य जिल्लालाई पनि प्रेरणा मिलेको बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, हनुमन्ते सफाई अभियानका अभियन्ता रुद्र पौडेल लगायतले सफाई अभियानलाई संस्थागत गर्दै लैजानु पर्नेमा जोड दिनुभयो ।