जनता टाइम्स

७ कार्तिक २०७९, सोमबार १७:५४

अस्ट्रेलियामा मनाइयो देवकोटा जयन्ती


अस्ट्रेलिया, कात्तिक ७ । अस्ट्रेलियास्थित कुइन्स्ल्याण्डको सार्वजनिक पुस्तकालय कक्षमा नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान, अस्ट्रेलियाको आयोजनामा ११३ औँ लक्ष्मी जयन्ती विभिन्न कामर्यक्रम गरी कात्तिक ५ गते सम्पन्न भएको छ ।

नेपाल नेपालीलाई विश्वसामु परिचित गराउने महाकवि लक्ष्मीप्रसाद देवकोटा विविध पक्षमा प्रकाश पारिएको थियो । संस्थाका अध्यक्ष हरिराज अधिकारीका सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. बद्रीविशाल पोखरेलले देवकोटाका कवितामा राष्ट्रवाद विषयक विषयत्र प्रस्तुत गर्नुभएको थियो ।

डा. पोखरेलले देवकोटाका कवितामा आर्थिक र राजनीतिक दुबै अधिकार सहितको प्रजातन्त्रको पक्षपोषण गरिएको,जनता र राष्ट्रप्रति इमान्दार राजनीतिक र राजकीय नेतृत्वको कलात्मक रुपमा दृढ समर्थन गरिएको तर कुनै पनि रंङ्ग र आवरणको विसंगत राजनीति,सरकार र नेतृत्व कटु आलोचना गरेको यथार्थता कवितांश सहित विषयत्रमा उल्लेख गर्नुभयो ।

संस्थाकी संस्थापक अध्यक्ष बुनू गौतमले विभिन्न रचनात्मक तथा सेवामूलक काम गरी नेपाली संस्कृतिका सबै पक्षको जगेर्ना गर्न यो संस्था विगत तीन वर्ष अघि स्थापना भएको बताइन् । संस्थाका सचिव बद्री बिस्टद्वारा स्वागत तथा कार्यक्र्रमको औचित्य माथि प्रकाश पार्नुभयो । उक्त कार्यक्रममा,हरिराज अधिकारी, दीपा भण्डारी, हरिराज अधिकारी,बुनू गौतम, मदन चापागाईँ लगायत कविहरुले कविता,गीत र जगल बाचन गर्नुभएको थियो ।

कार्यक्रममा ससना नानीहरुले सिरैमा श्रीबिन्दु नामको नेपाली लोकगीतमा बालनृत्य प्रस्तुत गरेका थिए । संस्थाको तेस्रो वार्षिक दिवस पनि यही दिन परेकाले यस अवसरमा बाल बालिकाहरुले केक काटेर दिवसको उत्तरोत्तर सफलताको कामना गरेका थिए । कार्यक्रको अन्तमा सामूहिक द्यौसीभैलो गीत गाउँदै नाचगान गरिएको थियो ।