जनता टाइम्स

१० कार्तिक २०७९, बिहीबार २१:०५

टी२० विश्व कप : पाकिस्तानमाथि जिम्बाब्बेको १ रनको रोमाञ्चक जित


एजेन्सी, १० कात्तिक । जिम्बावेले आइसिसी टि२० विश्वकपमा पाकिस्तानमाथि एक रनको रोमान्चक जित हात पारेको छ । लगातार दोस्रो हारसँगै पाकिस्तानको सेमिफाइनल खेल्ने सम्भावना कठिन बनेको छ ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन बनायो ।

पाकिस्तानलाई अन्तिम ६ बलमा जितको लागि ११ रन चाहिँएको थियो । पहिलो बलमा ब्राड इभान्सलाई मोहम्मद नवाजले तीन रन प्रहार गरे । मोहम्मद वासिम जुनियरले दोस्रो बलमा चौका हानेपनि बाँकी चार बलमा चार रन चाहिँएको थियो । तेस्रो बलमा एक रन बटुले । चौथो बल नवाजले डट खाए ।

दुई बलमा तीन रन चाहिँएको थियो । पाँचौं बलमा नवाज मिडअनमा क्रेग एर्विनबाट २२ रनमा क्याच आउट भएपछि खेल थप रोमान्चक बनेको थियो । नवाजले १८ बलमा १ चौका र १ छक्का हाने । अन्तिम बलमा तीन रन चाहिँएको थियो । शाहिन शाह अफ्रिदी दुई रन लिने क्रममा रन आउट भएपछि जिम्बावेले रोमाञ्चक जित हासिल गरेको हो ।

पाकिस्तानका शन मसुदले सर्वाधिक ४४ रन बनाए । रिजवानले १४, रन र इफ्तिखार अहमद ५ रनमा आउट भए । चौथो विकेटका लागि शादब खान र शन मसुदले ३६ बलमा ५२ रनको साझेदारी गरेका थिए । त्यसपछि सिकन्दर राजाले तीन विकेट लिँदै पाकिस्तानलाई समस्यामा पारे ।

शादबले १४ बलमा १ चौकासहित १७ रनमा आउट भए । लगत्तै अर्को बलमा हैदर अली एलबीडब्लू आउट हुँदै गोल्डेन डक पेभिलिएन फर्किए ।

राजाले १६ औं ओभरको पहिलो बलमा मसूदलाई स्टम्पिङ गराउँदै ९४–६ को अवस्थामा पुर्याए । जिम्बावेका सिकन्दर राजाले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । ब्राड इभान्सले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि पर्थ स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको जिम्बावे २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो । जिम्बावेका सेन विलियम्सले २८ बलमा ३ चौकासहित सर्वाधिक ३१ रन बनाए । एक समय जिम्बावे १३.४ ओभरमा ९५–३ को बलियो अवस्थामा थियो ।

तर बाँकी ६ बलमा कुनै रन जोड्न नसक्दा मध्यक्रमका प्रमुख चार ब्याटर गुमाएपछि संकटमा परेको थियो । तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर ह्याट्रिक नजिक पुगेका थिए । त्यसपछि भने लगातार दुई वाइड फ्याँलेका थिए । जिम्बाब्बेले मध्यक्रममा चार विकेट गुमाउँदा कुनै पनि रन जोड्न सकेन ।

जिम्बावेले सुरुवात भने राम्रो गरेको थियो । वेस्ली मधेवेरे र कप्तान क्रेग एर्विनले पहिलो विकेटका लागि ५ ओभरमा ४२ रन जोड्दै राम्रो सुरुवात दिलाए । हरिस रौफको बलमा एर्विन मोहम्मद वासिमबाट १९ रनमा क्याच भए ।

पाकिस्तान पहिलो खेलमा भारतसँग ४ विकेटले पराजित भएको थियो । पाकिस्तानले अव आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि विहीबार दक्षिण अफ्रिका र आइतबार बंगलादेशसँग खेल्नेछ ।