जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार ११:१६

प्रदेश–२ का मन्त्रीले एकवर्षमा लिए २३ लाख भत्ता, मुख्यमन्त्री भन्दा राज्यमन्त्रीको बढि भत्ता


जनकपुरधाम, साउन १९

प्रदेश–२ सरकारले एक वर्षमा दैनिक भत्तामै करिब २३ लाख रुपैयाँ खर्च गरेको छ । गएको आर्थिक वर्षमा दैनिक भत्ता लिनेमा मन्त्रीभन्दा पनि राज्यमन्त्री अगाडि देखिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको विवरणअनुसार आर्थिक वर्ष २०७५\७६ मा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले दैनिक भ्रमण भत्ता बापत २२ लाख ९७ हजार २० रुपैयाँ लिएका हुन् । मुख्यमन्त्री लालबाबु राउतले एक वर्षमा दैनिक भ्रमण भत्ताबापत मात्र ३ लाख ८ हजार सात सय ४० रुपैयाँ बुझेका छन् । तर, कुनै जिम्मेवारी नपाएको भन्दै गुनासो गरिरहने राज्यमन्त्रीले मुख्यमन्त्रीभन्दा पनि बढी दैनिक भत्ता लिएका छन् । आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले ३ लाख १९ हजार दुई सय सय ८३ रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेकी छन् । उनले एक सय ६० दिन भ्रमणमा बिताएकी हुन् ।

यस्तै सबैभन्दा कम दैनिक भ्रमण भत्ता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले लिएका छन् । एक वर्षको अवधिमा उनले ५५ हजार मात्रै दैनिक भ्रमण भत्ता लिएका छन् । दैनिक भ्रमण भत्ताबापत प्रतिदिन मुख्यमन्त्रीले तीन हजार, मन्त्री र राज्यमन्त्रीले दुई हजार पाउने मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवासुविधा सम्बन्धी कानुनमा व्यवस्था छ ।

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले २ लाख ७४ हजार नौ सय ९० रुपैयाँ, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले १ लाख ८५ हजार पाँच सय ४० रुपैयाँ बुझेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले १ लाख ३९ हजार आठ सय ३४ रुपैयाँ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले १ लाख ४ हजार तीन सय ७० रुपैयाँ, समाजिक विकास मन्त्री नवलकिशोर साहले १ लाख १८ हजार रुपैयाँ, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंहले २ लाख ८ हजार चार सय ३ रुपैयाँ बुझेको कार्यालयले जानकारी दिएको छ ।

यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र रायले १ लाख ७४ हजार ६ सय रुपैयाँ, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले ६९ हजार तीन सय ७५ रुपैयाँ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले १ लाख ५७ हजार ६० रुपैयाँ र उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले १ लाख ८२ हजार सात सय २५ रुपैयाँ लिएका छन् ।