जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार १२:५३

सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन अर्थमन्त्री खतिवडाको निर्देशन


काठमाडौं, साउन १९ । अर्थमन्त्री डा युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिनु भएको छ । ललितपुरमा आजबाट सुरु भएको व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सो निर्देशन दिनुभएको हो ।

उहाँले मुलुकको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनैपर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले सरकारले सबै क्षेत्रको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर राजस्व संकलन गरी निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षा र मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको पुनः दोहोर्याउनु भयो ।

‘हाम्रो उद्देश्य व्यवसाय गर्नेहरु बीचमा स्वच्छ, पारदर्शी प्रतिस्पर्धा रहोस्, मुलुकमा व्यवसायिक वातावरण बनोस्, लगानीको वातावरण बनोस र स्वच्छ कर प्रशासनको माध्यामबाट राजस्व संकलन गरेर निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षाको व्यवस्था र विकास निर्माणको कामलाई अघि बढाउन सकियोस,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

अर्थमन्त्री खतिवडाले राजस्व संकलन तीन वर्षयता सन्तोष गर्ने ठाउँमा रहेपनि उत्साहजनक नरहेकाले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई जोड दिएको बताउनुभयो । उहाँले सरकारले स्वच्छ र पारदर्शी व्यवसाय चाहेको भन्दै सोहीअनुसार गर्न पनि ब्यवसायीलाई आग्रह गर्नुभयो ।