जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार १३:०६

सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु


चिप्लेढुंगा, साउन १९

नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गर्नुभएको हो ।

उक्त प्रशिक्षणमा परिषद्का सदस्य गुरुङले खेलाडीलाई शुभकामना दिनुहुँदै राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । गुरुङले तोकिएकै समयमा नेपालमा साग हुने बताउनुभयो । उहाँले खेलाडी र प्रशिक्षकलाई भत्तालगायतका सुविधा थप गर्न परिषद्ले गृहकार्य थालेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङले खेलाडीलाई आफ्नो अनुशासनमा रही पदक जितेर राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलाडीलाई आग्रह गर्नुभयो । सागअन्तर्गत बन्द प्रशिक्षणका लागि २८ महिला र २८ पुरुष गरी ५६ खेलाडी पहिलो चरणको छनोटमा परेका छन् । सागको महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा २०७६ मङ्सिर १५ देखि २४ सम्म हुनेछ ।