जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार १३:४९

कमसल बाँध बनाउने ठेकेदारलाई कारवाही गरिने


हेटौंडा, साउन १९

मकवानपुर गढी गाउँपालिका–५ ज्यामिरेमा रु ५२ लाखको लागतमा निर्माण गरिएको ‘क्रंक्रिट ड्याम’ गुणस्तरहीन भएको भन्दै स्थानीय जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन् । खैरनी खोलाको दोभानस्थित ज्यामिरे बस्ती जोगाउन बनाइएको बाँध ठेकेदारको लापरवाहीले एक हप्तासम्म पनि ‘सेट’ नभएको स्थानीय रामप्रसाद घिमिरेले बताउनुभयो ।

कम्पनीले मापदण्ड विपरीत बालुवाको मात्रा बढी हालेको र सिमेन्ट तथा छडको प्रयोग कम गरेको अनुगमनका क्रममा पाइएको बताइएको छ । ज्यामिरे खोलामा निर्माण गरिएको ६५ मिटर लामो ‘आरसीसी ड्याम’मा बालुवा निस्कनाका साथै वरपर चर्किएको पाइएको स्थानीय लक्ष्मण फूयाँलको गुनासो थियो ।

मकवानपुर गढी गाउँपालिकाले गरेको बोलपत्रमा भिजन कन्ट्रक्सन प्रालिले रु ५२ लाखको लागतमा उक्त बाँध निर्माण गरेको हो । सम्झौतामा उल्लेख गरेकोभन्दा बाँधमा सिमेन्ट अत्यन्त कम मात्र हालिएकाले गुणस्तरहिन भएको पाइएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख बिदुर हुमागाईं, पाँच नम्बर वडाध्यक्ष जीतबहादुर घिमिरे र टोल विकास संस्थाका प्रतिनिधि र पत्रकारसमेतले निर्माण गरिएको ड्याम निरीक्षण गरी सो आपत्ति जनाएका हुन् । वडा नम्बर ५ का अध्यक्ष घिमिरेले निर्माण गरिएको बाँध मापदण्ड विपरीत रहेकोले ठेकदारलाई पुनः बनाउन लगाउने र कारवाही गरिने जानकारी दिनुभयो ।