जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार १८:०२

गगन थापाले नियुक्त गरेका पूर्व भिसी रौनियारविरुद्ध अख्तियारको सवा करोडको मुद्दा


काठमाडौं, साउन १९

स्वास्थ्यमन्त्री हुँदा गगन थापाले नियुक्त गरेका बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निलम्बित उपकुलपति प्रा.डा. राजकुमार रौनियारमाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा करोडको मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग कार्यकक्षमा आठ लाख रुपैयाँ घुससहित पक्राउ परेका रौनियारसहित उनका भतिज डा. रामहरि रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । रौनियारलाई सेवाग्राहीबाट घुस लिएलगत्तै गत असार २७ गते अख्तियारको टोलीले कार्यकक्षबाट पक्राउ गरेको थियो। रौनियारसँगै उनका भजित प्रतिष्ठानकै हाउस अफिसर रामहरि पक्राउ परेका थिए।

प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रा.लि. को सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रा.लि. का प्रबन्ध निर्देशक सुशिल कुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र बिभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका उप–कुलपति प्रा. डा. राज कुमार रौनियारले पटक पटक कमिसन बापत घुस रिसवत लिएको भनी अडियो भिडियो सहितको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

अनुसन्धान भइरहेको अवस्थामा निज उपकुलपति प्रा। डा। राज कुमार रौनियारले फार्मेसी भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि उजुरी निवेदक सुशिल कुमार झालाई बोलाई भुक्तानी दिनुपर्ने रकमबाट थप रु ८,००,००० कमिसन बापत घुस रिसवत माग गरेको भन्ने समेतको मिति २०७६–०३–२५ गते आयोगमा पेश गरेको अर्को उजुरीका आधारमा आयोगबाट खटिई गएको टोलीले रौनियारलाई निजले उजुरी निवेदकबाट घुस रिसवत लिई सोही प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत आफ्नै भतिज डा. रामहरी रौनियारलाई आफ्नो निवासमा राख्न पठाइसकेपछिको अवस्थामा निजकै कार्यकक्षमा फेला पारेको थियो ।

घुस रिसवत लिएको सप्रमाण पुष्टि हुन आएकोले निज राजकुमार रौनियार र निजको भतिज डा. रामहरी रौनियारलाई देहाय अनुसारको सजायको मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।