जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार १८:४५

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्र र कमल थापालाई कडा चेतावनी


रामेछाप, साउन १९ । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी दिनुभएको छ । वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आज उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो चेतावनी दिनुभएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध चलखेल गरे स्वीकार्य नहुने पनि उहाँले प्रष्ट पार्नुभयो । प्रचण्डका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको जिकिर गर्नुभयो । ‘शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको हो, बढी बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने छन,’ अध्यक्ष प्रचण्डको भनाई थियो ।

उहाँले राजा महाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको भन्दै नसच्चिए महंगो मुल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ,’ प्रचण्डले भन्नुभयो । उहाँले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । शनिबार एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने बताउनु भएको थियो । प्रचण्डले थापालाई बकबक नगर्न चेतावनी दिनुभएको हो ।

थापाको नाम नलिइ नेकपा अध्यक्ष प्रचण्डले जिन्दगीभर तानाशाहहरुको चाकरी गर्नेहरुले अहिले सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेको टिप्पणी गरेका छन् ।