दोलखा, कात्तिक २२ । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गांगा कार्की ‘विश्व’ चुनावी कोण सभा सम्बोधन गर्न गाउँ आउने थाहा पाएपछि दोलखा बिगू गापा–६ आलाम्पुकी ८० बर्षीय सेतीमाया थामी निर्धारित समयमै कार्यक्रम स्थल पुग्नुभयो । खादा लगाएका उम्मेदवार कार्की स्टेजमै हुनुहुन्थ्यो ।
थामीले कार्कीलाई भेटन हर कोशिस गर्नुभयो । तर, सफल हुनुभएन । कार्यक्रमको बीचमै स्टेजबाट उठेर कार्की चौरीतर्फ निस्किनुभयो । पर्खेर बसेकी सेतीमायाले उहाँलाई बीच बाटोमै समात्नु भयो । अनि छाती पिटेर रुँदै प्रश्न गर्नुभयो, ‘मेरो छोरा खोई ?’ सेतीमाया थप भक्कानिनु भयो । कुर्सीमा थचक्क बस्दै पुनः प्रश्न गर्नुभयो, ‘बाबु मेरो छोरालाई किन सँगै नल्याएको ?’
उहाँको आँस यतिमै रोकिएन । भाविह्वल हुँदै उहाँ छटपटाउन थाल्नुभयो । चुनावी सभा एकाएक भावविह्ल बन्यो । त्यसपछि कार्कीलाई आलाम्पुका स्थानीय थामीले एकाएक घेरा हाले । सबैको अनुहारमा उही प्रश्न दौडिएका देखिथे, ‘हाम्रा छोरा खोई ?’ तर, कार्कीसँग जवाफ थिएन । वातावरण नियन्त्रणभन्दा बाहिर जाने देखिएपछि भाषण बिचै छाडेर दोलखा(ख)का उम्मेवार बर्मा लामा कार्की नजिक पुग्नुभयो । र सेताीमायालाई सम्झाउन जुटनुभयो ।
जनयुद्धताका नेता हुन कार्की । युद्धताका उहाँ आलाम्पु गइरहनु हुन्थ्यो । तर, शान्ति प्रक्रियापछि कार्की गाउँ जान चटक्कै छाडनु भयो । १५ वर्षपछि उम्मेदवार बनेर उहाँ गत साता गाउँ पुग्नु भएको थियो । कार्यक्रममा सहभागि मानबहादुरकी आमा सेतीमाया र बुबा सन्तविर सुरुमा नाँच्नुभएको थियो । तर, छोरा गुमाएको पीडाले सेतीमायालाई भित्रभित्रै गाल्न थाल्यो । चुनावी तामझामले उहाँलाई शान्ति दिएन । एकाएक भक्कानिएकी थामी एकाएक कार्कीतर्फ जाइलाग्न पुग्नुभयो ।
चुनावी प्रचारप्रसारका क्रममा गत साता आलाम्पुमा भएको माथिको घटना बुझ्न २१ बर्ष अघिको सल्लेरी आक्रमणलाई केलाउनु पर्ने हुन्छ । सरकारसँगको वार्ता असफल भएलगतै १० मंसिर ०५८ मा सोलुको सल्लेरीस्थित सेनाको ब्यारेक तत्कालिन माओवादी छापामारबाट आक्रमण भयो । मध्य रात भएको अप्रत्यासित आक्रमणका कमाण्डर हुनुहुन्थ्यो । सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि दोलखाबाट अहिले चुनावी मैदानमा उत्रिनु भएको हो । आक्रमण बिना तयारी भएको थियो । सोही घटनामा मारिएका थिए, सेतीमायाका २४ बर्षीय छोरा मानबहादुर थामी ।

उनी तत्कालिन माओवादी छापामारका सेक्सन कमाण्डर थिए । आक्रमणमा उनीसँगै आलाम्पुकै बासु थामी र कुमार थामीले पनि ज्यान गएको थियो । उनीहरुसँगै सहभागि खुबहादुर थामी वालबाल बाँच्नुभयो । आलाम्पुकै गणेश थामी भने श्रीमतिका कारण आक्रमणमा सहभागि हुन सकेनन । नत्र उहाँको पनि ज्यान जानसक्थ्यो ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार कार्कीसँग छाति पिटेर प्रश्न गर्ने सेतीमाया आक्रमणमा मारिएका मानबहादुरकी वृद्ध आमा विगट गाउँमा सहाराबिहिन जीवन गुजार्न बाध्य छन् । सेतीमायाकी साइलो छोरा थिए, मानबहादुर । माओवादी आक्रमणमा मारिएपछि परिवारमा शोकसँगै ठुलो बज्रपात भयो । त्रासले गाउँ स्तब्ध भयो ।
मानबहादुर बाहेक उहाँका अन्य तीन सन्तान थिए । उनीहरु पनि मारिने भयले उनलाई हरेक रात पिरोल्न थाल्यो । डराएकी उनले जेठा छोरा रणबहादुर र माइलो बलबहादुरलाई रातारात भारतको उत्तरपुर्व दार्जिलिङ पठाउनु भयो । बडो मुस्किलले कान्छो चौतारीलाई घरमै जोगाउनु भयो । दार्जिलिङ गएका दुई छोरा त्यसपछि फर्केका छैनन् । कान्छो चौतारी भने अहिले काठमाडौंमै बस्छन ।
माओवादी द्धन्दका कारण परिवार उजाडेकी सेतीमाया अहिले गाउँमा बिल्कुल सहाराविहीन हुनुहुन्छ । ८५ बर्षीय उहाँकी श्रीमान सन्तबीर अस्वस्थ छन । बाहिरफेरो गर्न पनि उहाँलाई अहिले मुस्किल छ । घरमा बिहान बेलुका छाक टार्न मुस्किल छ । अगेना तातो गर्न दाउराको जाहो गर्ने घरमा कोही छैनन । आङ ढाक्न कपडा छैन । तातो पानी तयाएर खाने शक्ति शरिरबाट दिनदिनै क्षीण हुँदैछन । मृतक छोराको पीरले उहाँलाई निन्द्रामा अझै ऐठान गर्छ । मन बहलाउन उहाँ कहिले छिमेक कहाँ जानुहुन्छ । कहिले एक्कै बर्बराउनु हुन्छ ।
सल्लेरी आक्रमणमा बालबाल बाँचेका गणेश थामी भन्नुहुनछ, ‘आक्रमणमा उहाँको छोरा पर्नु भयो । हामी बल्तल्ल बाँच्यौं । उहाँका छोराहरु अहिले कोही दार्जिलिङ छन् । कोही काठमाडौंतिर छन् । उहाँ गाउँमा एक्कै हुनुहुन्छ । सहिदकी आमाको अवस्था बुझ्दा मन अमिलो भएर आउँछ । तर, गर्न सक्ने अवस्था हामीसँग केही छैन ।’
आक्रमणमा मारिएका मानबहादुरको नाम सहिदको सुचीमा दर्ज भएको छ । पार्टीको प्रत्येक औपचारिक कार्यक्रममा सहिद भएका अन्यसँगै मानबहादुरको नाममा पनि पार्टीका उपल्लो नेता शोक ब्यक्त गर्छन् । तर, सहाराबिहिन सेताीमायालाई उनीहरु सम्झन चाहँदैनन् । मानबहादुर जस्तै थामी समुदायबाट मात्रै सशस्त्र द्धन्दमा ३१ युवाले ज्यान गुमाए । उनीहरुका परिवारको अवस्था सेतीमायाकोभन्दा फरक छैन ।
क्रान्तिको नाममा युद्धमा होमिएका पार्टीका ‘फुल टाइमर’ कार्यकर्तामध्ये कोही खाँडीको तातो घाममा पसिना चुहाइरहेका छन् भने कोही मलेसियामा श्रम बेच्न बाँध्य छन् । अंगभंगका कारणले बैदेशिक रोजगारमा जान नसकेकोहरु गाउँमै ‘डिप्रेशन’को शिकार भएर बसेका छन् । यतिबेला उनीहरुसँग औषधि खरिद गर्ने दाम समेत खल्तीमा छैन । तर, नेता र तीनका आफन्तले राज्यबाट प्राप्त सुविधा भोग गरिरहेका छन् ।
चरम बितृष्णापछि पार्टीबाट अलग भएका गणेश भन्छन, ‘समाज परिवर्तन गर्ने सपना साँचे युद्धमा लागियो । तर, यसको फाइदा सबै नेता र तीनका आफन्तले लिए । पार्टीमा लागेका हामी जस्ता ‘फुल टाइमर’ बिहान बेलुकाको छाक टार्न मुस्किल छ । हिजो हामीसँग समाज बदल्ने सपना थियो । तर, समाज होइन, नेता बदलिए । यद्यपी युद्धमा लागेकोमा पश्चताप छैन । गर्व नै लाग्छ ।’
जनयुद्धमा मुलुकभरबाट १७ हजारले ज्यान गुमाए । दोलखाबाट मात्रै एक सय १ जनाको ज्यान गयो । जसमध्ये ३१ जना थामी युवा थिए ।













प्रतिक्रिया दिनुहोस्