जनता टाइम्स

२० श्रावण २०७६, सोमबार १८:४०

चिनिया विआरआई टोलीले भेट्यो मुख्यमन्त्री पोखरेल, कनेक्टिभिटीको महत्वपूर्ण हिस्सा प्रदेश पाँच


बुटवल, साउन २० । मुख्यमन्त्री शंकर पोखरेलसंग चिनियाँ विआरआई विज्ञ टोलीले भेटबार्ता गरेको छ । टोलीले आज मुख्यमन्त्री पोखरेलसँग भेट गरी विआरआई र यसको कार्यान्वयनले नेपाल र प्रदेश ५ ले लिने फाइदाबारे छलफल गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को विशेषता र संभावना तथा बुद्ध र बौद्ध दर्शनको प्रभावबारे जानकारी गराउँदै विआरआईमार्फत नेपाल र प्रदेश ५ ले लाभ लिने बताउनुभयो । उहाँले नेपालमा विआरआई कनेक्टिभिटीको एक महत्वपूर्ण हिस्सा प्रदेश ५ रहेको बताउनुभयो । उहाँले केरुङ–काठमाडौं लुम्बिनी रेलवेको काम छिटो अघि बढाउन सक्दा लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्नुको साथै यो क्षेत्र महत्वपूर्ण सम्पर्क विन्दु हुन सक्ने बताउनुभयो । कालीगण्डकी करिडोरले बढाउने कनेक्टिभिटी र ल्याउने अवसरबारे विस्तृत अध्ययन गर्नुपर्ने धारणा पनि मुख्यमन्त्री पोखरेलले राख्नुभयो ।

चाइना एकेडेमिक अफ साइन्सका प्राध्यापक लीउ वी डोउको नेतृत्वमा आएको आठ सदस्यीय टोलीले विआरआईमार्फत गर्न सकिने काम र संभावनाबारे मुख्मयन्त्रीसंग जानकारी लिएको थियो । प्राध्यापक लीउ वी डोउले मुख्यमन्त्रीसंग महत्वपूर्ण छलफल भएको र समय दिनुभएकोमा धन्यवाद दिनुभयो । विआरआई परियोजना मार्फत चीनले आफूसगैं छिमेकको विकास र उन्नतिलाई जोड्न चाहेकोले आगामी दिनमा पनि छलफल गर्दै अघि बढ्ने बताउनु भएको मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।