जनता टाइम्स

२० श्रावण २०७६, सोमबार २०:३०

कर्मचारीलाई मन्त्री अर्यालको प्रश्न : मन्त्रिपरिषद्को निर्णय त मान्नुपर्यो नि ! किन खुट्टा कमाएको ?


तनहुँ, साउन २० । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले तनहुँको सुक्लागण्डकी नगरपालिकाका स्थानीयलाई दशैभित्र लालपूर्जा दिनेगरी काम गर्न प्रमुख जिल्ला अधिकारीसहित सवै कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

तनुहँको सुक्लागण्डकी–७ शान्तिनगरमा अव्यवस्थित बसोबासलाई लालपूर्जा दिलाउन आयोजित छलफलमा मन्त्री अर्यालले सो निर्देशन दिनुभएको हो । मन्त्रिपरिषद्को निर्णयले स्थानीयको लालपूर्जा दिलाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिइएको भन्दै उहाँले दशैभित्र जनताको हातमा लालपूर्जा थमाउने गरी काम गर्न निर्देशन दिनुभयो ।

‘राजनीतिक व्यक्तिलाई दिँदा विवाद होला, समस्या पर्दा र काम रोकिएला भनेर स्थानीयको लालपूर्जा दिलाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलगायतका मातहतका कर्मचारीलाई दिएको हो,’ मन्त्री अर्यालले भन्नुभयो, ‘मन्त्रिपरिषद्को निर्णय त मान्नुपर्यो नि ! पाल्पाको रामपुर र यहाँको छिट्टै काम सकेर लालपूर्जा बाड्ने योजना छ । प्रमुख जिल्ला अधिकारीलगायत सबै कर्मचारीले त्यसतर्फ ध्यान दिनुपर्यो ।’

उहाँले छिटो काम गर्न र काममा खुट्टा नकमाउन निर्देशनसमेत दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले यो काम गर भनेपछि कार्यान्वयन गर्न किन ढिलाई गरिरहनुभएको छ ? यसपटकको दशैं यहाँका जनताले हालमा लालपूर्जा बोकेर खुशी साथ मनाउन पाउन, सबै कर्मचारीलाई निर्देशन र जनप्रतिनिधिलाई मेरो अनुरोध छ ।’ बिचौलियादेखि भने सतर्क रहन उहाँले स्थानीयलाई आग्रह गर्नुभयो । ‘अहिले जे क्षेत्रमा पनि बिचौलियाको बिगबिगी छ । जग्गा जमिनमा झन नहुने कुरै भएन, त्यस्ता समुहबाट तपाईंहरु सतर्क रहनुहोला,’ मन्त्री अर्यालले भन्नुभयो ।

नगरपालिकामा बसोबास गर्ने १ हजारभन्दा बढी घरधुरीका स्थानीयले आफूले जोतभोग गर्दै आएको जग्गालाई लालपूर्जा दिनुपर्ने माग गर्दै आएका छन् । कार्यक्रममा मन्त्री अर्यालले जनताको जीवनस्तर बदल्नेगरी वर्तमान सरकारले विशेष किसिमको कार्यक्रम ल्याएको भन्दै स्थानीयलाई कृषि क्षेत्रमा लाग्न आग्रह पनि गर्नुभयो । ‘हामी अहिले नयाँ ढंगले काम गर्ने ठाउँमा छौं । हामीले जमिनको वर्गीकरण गरेर काम गर्ने योजना पनि बनाएका छौं’, उहाँले भन्नुभयो ‘अब निर्वाहमुखी कृषि प्रणालीबाट जीवन बदल्न सकिँदैन । जमिनको अधिकतम प्रयोग नगरी माथि जान सक्दैनौं ।’

मन्त्री अर्यालले वैज्ञानिक तरिकाले जमिनको उपयोग गर्नेगरी सरकारले कार्यक्रम ल्याएको र जुन क्षेत्र जेका लागि उपयुक्त छ, त्यसरी नै विकास गर्ने सरकारको योजना रहेको समेत बताउनुभयो । उहाँले युवाहरूलाई उचित सीप सिकेर व्यवसायी बन्ने प्रयत्न गर्न समेत आग्रह गर्नुभयो । हिजोका पुरानो कानुनलाई परिवर्तन नगरी नेपालीको इच्छा र चाहाना पूरा नहुने भन्दै मन्त्री अर्यालले हल्लाको पछाडि नलाग्न जनतालाई आग्रह समेत गर्नुभयो ।

‘नेपाली समाज परिवर्तनको दौरानमा छ । हामी भर्खर समाजवादको दिशातर्फ प्रवेश गरेका छौं । अब अधिकारका लागि राजनीतिक लडाईं सकियो’, मन्त्री अर्यालले भन्नुभयो, ‘परिवर्तित नेपाली समाजको चाहानअनुसार हामीले पुरानो कानुनहरुलाई फेरेर नयाँ कानुन बनाउने हो । जनताको इच्छा र भावनामा ठेस पर्नेगरी सरकारले कुनै पनि काम गर्दैन ।’ उहाँले संयमित भएर हल्लाको पछाडि नलाग्न पनि आग्रह गर्नुभयो ।