जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार १७:१७

बिद्यार्थी कुटपिट–मृत्यू प्रकरण : तीन शिक्षक जेल चलान, अध्यक्ष–प्रिन्सिपल धरौटीमा रिहा


कञ्चनपुर, साउन २१ । कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा कञ्चनपुर जिल्ला आदालतले तीन जना शिक्षकलाई जेल चलान गर्न आदेश दिएको छ । अदालतले आज बिद्यालयका अध्यक्ष र प्रिन्सिपललाई धरौटीमा रिहा गर्दै तीन जना शिक्षकलाई भने जेल चलान गर्न आदेश दिएको हो ।

दुई दिनसम्म चलेको थुनछेक बहसपछि जिल्ला न्यायाधिश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरन्जन प्रसाद बोहराबाट एक लाख, प्रिन्सिपल यशोदा जोशीबाट तीन लाख रुपैयाँ धरौटी असुल्न तथा शिक्षकत्रय लक्ष्मणप्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । कञ्चनपुर जिल्ला आदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले धरौटी र पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको जानकारी दिनुभयो ।

गत असार २५ गते मृतक माधवका मामा पुष्पमणी जोशीले अध्यक्ष बोहरा, प्रिन्सिपल जोशीसहित तीन शिक्षकविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को अनुसुची–१ बमोजिम ज्यान सम्बन्धी कसुर मुद्दा दायर गर्नुभएको थियो । शिक्षकले उनलाई मर्ने गरेर कुटपिट नगरेको र अनुशासन सन्तुलन गर्न समान्य दुई झापड मात्रै हानेको बताएका थिए । माधवलाई परिवारको जिम्मा लगाउँदा स्वास्थ्य अवस्था ठिकै रहेको उनीहरुको भनाई थियो । कुटपिट भएको १२ औँ दिनमा बिद्यार्थीको मृत्यु भएपछि घटना रहस्यमयी भएको शिक्षकको भनाई थियो । गत असार १३ गते कुटिएका विद्यार्थी माधवको १२ दिनमा मृत्यु भएको थियो । मृत्यु भएको ११औँ दिनमा आफन्तले शव बुझेर अन्त्यष्टी गरेका थिए ।

बैतडी शिवनाथ गाउँपालिका–२ सर्मली घर भएका कलौनी भीमदत्त नगरपालिका ५ बनगाउँ मामाघरमा बसेर अध्ययनरत माधवले शिक्षकले नै कुटपिट गरेको बताएपछि उनको सुरुमा डडेल्धुराको उप क्षेत्रीय अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि महाकाली हुँदै नेपालगन्जको शिक्षण अस्पतालमा उपचारपछि भारतको राममूर्तिमा उपचार गर्दागर्दै मृत्यु भएको थियो ।