जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार १९:४८

वंशको शासन फर्केर आउँदैन : माधव नेपाल


काठमाडौं, साउन २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फर्कन्छ भन्ने भ्रम नपाल्न र राजतन्त्रको सपना नदेख्न सवैलाई सचेत गराउनुभएको छ । नेपालमा फेरि निरंकुश शासन आउन नसक्ने भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता नेपालले सो भनाईराख्नुभएको हो ।

नेकपा रामेछाप खाडादेवीले काठमाडौंमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेता नेपालले वंशको शासन कसैले नस्वीकार्ने स्पष्ट पार्नुभयो । पूर्वराजा ज्ञानेन्द्रतर्फ इंगित गर्दै उहाँले राजनीति गर्ने भए पार्टी खडा गरेर आउन चुनौती दिनुभयो । ‘वंशको शासन चाहिँदैन । त्यो फर्केर आउँदैन, बरु व्यापार गर्नु, समाज सेवामा जुट्नु, मान, सम्मान प्राप्त गर्नु, राजनीति गर्ने रहर भए पार्टी खडा गर्नु, पार्टीबाट चुनावमा आउनु, जनताको मन र विश्वास जित्नु । नेपालमा तानाशाही र अधिनायवादी शासन आउन सक्दैन,’ नेता नेपालको भनाई थियो ।

देशलाई अघि बढाउनु पर्ने जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा आएको भन्दै नेता नेपालले जनताको अपेक्षाअनुसार काम गरेर देखाउने प्रतिवद्धता पनि जनाउनुभयो । नेपालले कमी कमजोरी सुधारेर काम कसरी गर्ने भन्नेमा सामाजिक चेतना फैलाउनु पर्नेमा जोड दिनुभयो । कम्युनिष्ट कार्यकर्तामा वैचारिक र व्यवहारिक प्रशिक्षण आवश्यक रहेको पनि उहाँको भनाई थियो । ‘सपना देख्ने काम धेरै भयो । विपनामा थोरै काम भयो भन्ने पनि होला । तर, कामै नभएको भने होइन, अफवाहतिर लाग्न जरुरी छैन,’ नेपालले भन्नुभयो ।

कार्यक्रममा नेता नेपालले कांग्रेस परित्याग गरी नेकपा प्रवेश गर्ने खाडादेवीका स्थानीय नेता तथा कार्यकर्तालाई स्वागत गर्नुभएको थियो । प्रवेश गर्नेमा शिक्षक संघ क्षेत्रीय सचिव एवं वुद्धभवानी माविका प्रअ रामचन्द्र खत्रीसहित स्थानीय कार्यकर्ता सन्तोस खत्री, रामहरि खत्री, श्याम लामा, रामबहादुर बुढाथोकी, सहदेब बुढाथोकी, शिवराज खत्री, गोपाल श्रेष्ठ, ध्रुव श्रेष्ठ, चित्रबहादुर बस्नेत, सुस्मिता बस्नेत, गणेश श्रेष्ठ, सन्जिप मानन्धर, रवि कार्की, दलबहादुर तामाङ, लोकबहादुर घिसिङ, किशोर नेपाली, औलाथ तामाङ, हरिचन्द्र पौडेल, विमल घिसिङ, नवराज तामाङ, दयाराज तामाङ, राजेन्द्र श्रेष्ठलगायत हुनुहुन्छ ।