जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १४:४७

बिष्णु पौडेलले सुनाए सुकुम्बासी समस्या समाधानका लागि प्रभावकारी कदम चाल्ने योजना


रुपन्देही, साउन २२

पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले अव्यवस्थित वसोबासलाई व्यवस्थित गर्न सरकारले प्रभावकारी कदम चाल्ने बताउनुभएको छ । बुटवल उपमहानगरपालिका–२ को भवन उद्घाटन तथा ज्येष्ठ नागरिक मिलन केन्द्र शिलान्यास समारोहलाई आज यहाँ सम्बोधन गर्दै महासचिव पौडेलले छिट्टै उच्चस्तरीय आयोग गठन गरेर सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको समस्या समाधान गर्ने बताउनुभयो ।

उहाँले आयोगमार्फत भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको पहिचान गरिने बताउनुभयो । “भूमिसम्बन्धी ऐन संशोधन गरी बनेको विधेयक हाल सङ्घीय संसद्मा छलफलको चरणमा छ । विधेयकको टुङ्गो लागेपछि आगोग गठन गरी भूूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्छौं”, उहाँले भन्नुभयो ।

महासचिव पौडेलले बुटवलको गौरवका रुपमा जितगढी किल्लाको विकास गर्नुपर्ने धारणासमेत राख्नुभयो । जितगढी किल्लालाई अन्तर्राष्ट्रिय महत्वको राष्ट्रिय सम्पदाका रुपमा विकास गर्नुपर्नेमा महासचिव पौडेलले जोड दिनुभयो । उहाँले तिनाउ पुल पुरानो अवस्थामा रहेकाले नयाँ निर्माण जरुरी रहेको र बुटवल–कोहलपुर सडक विस्तारको तयारी भइरहेको जानकारीसमेत गराउनुभयो ।

उहाँले वडामा बजेटको सही सदुपयोग र कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभयो । “जनप्रतिनिधि र जनताका काम नगर्ने अधिकार कर्मचारीलाई छैन । जनताका समस्या समाधानका लागि योगदान दिनु उनीहरुको दायित्व हो”, महासचिव पौडेलले भन्नुभयो ।

कार्यक्रममा प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठले नगर सरकारको अनुभूति हुने गरी स्थानीय तहमा काम भइरहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले व्यवस्थित योजना निर्माण र कार्यान्वयन गरी समृद्ध नगरको परिकल्पना साकार गर्नु अहिलेको आवश्यकता रहेकामा जोड दिनुभयो ।