जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १६:४९

केन्द्रीय कार्यालयको निर्माण कार्य तत्काल अघि बढाउन नेतृत्वलाई मुख्यमन्त्री शंकर पोखरेलको सुझाव


काठमाडौं, साउन २२

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीको केन्द्रीय कार्यालय चाडो बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनु भएको छ । उहाले पार्टी कार्यालयका नाममा केही तत्वले गलत प्रचार फैलाउन लागेको भन्दै उहाले आफ्नै भवन निर्माणमा ध्यानदिनुपर्ने बताउनु भएको हो ।

पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीसमेत रहनु भएका पोखरेलले २०७२ सालको भूकम्पले बल्खुको कार्यालय भत्किएकाले अस्थायी रूपमा सारिएको बताउँदै यसलाई दुरुपयोगको जामा लगाइएको उल्लेख गर्नुभयो । नेकपाको अहिलेको अस्थायी कार्यालय दुई वर्षअघि पासाङ ल्हामु स्मृति पर्वतारोहण प्रतिष्ठानसँग भाडामा लिइएको हो ।

‘विनासकारी भूकम्पमा परी तत्कालीन नेकपा (एमाले) को बल्खुस्थित कार्यालय क्षतिग्रस्त भएपछि धुम्वाराहीमा कार्यालय अस्थायी रुपमा सारिएको हो । जनताका भत्किएका घर बनाउने कुरामा जोड दिनुपरेका कारणले नयाँ कार्यालय भवन बनाउन ध्यान नपुगेकै हो’, पोखरेलले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘धुम्बाराहीमा सधैँ बस्ने होइन । विस्थापितलाई अस्थायी रूपमा ठाउँ दिनु राज्यको पनि कर्तव्य हो । यसलाई दुरुपयोगको जामा लगाउने कस्ट नगरेकै भए राम्रो हुन्थ्यो ।’

उहाले अगाडी भन्नुभएको छ, ‘तर प्रश्न उठिनै सकेपछि अब नेकपाले आफ्नो कार्यालय बनाउन लाग्नु पर्दछ । अहिलेको अस्थायी कार्यालयमा आवश्यक ठाउँको अभाव पनि छ । एकीकृत पार्टीलाई परिचालन गर्ने हो भने श्रोतको पनि अभाव हुनेछैन । भूकम्पपछिको पुनर्निर्माण योजना अन्तर्गत कानुनतः प्राप्त हुने सहयोग लिने कुरा पनि अनुचित हुने छैन ।’